अमृता टण्डन मृत्यु प्रकरण: १५ दिन बित्दा पनि अन्त्येष्टि हुन सकेन, घटना झन् रहस्यमयी

बुटवलः गत चैत ३० गते तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी २९ वर्षीया अमृता क्षेत्री टण्डनको रहस्यमयी मृत्यु भयो। उनको मृत्युको आज १५ दिन बित्दा समेत अझै अन्त्येष्टि भने हुन सकेको छैन।
रुपन्देही प्रशासनले निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएपछि माइती पक्षको सहमतिपछि वैशाख ४ गते उनको पोष्टमार्टम गरिएको थियो। तर मृतकका माइती पक्षले हत्यामा संलग्नमाथि कारबाही नभएसम्म शवको अन्त्येष्टि नगर्ने अडान लिएका छन्।
मृतक अमृताका दाजु पुष्पक खत्रीले बहिनीको मृत्यु आत्महत्या नभई परिवारबाटै हत्या भएकोले हत्यामा संलग्नहरूमाथि कारबाही हुने सुनिश्चितता नभएसम्म अन्त्येष्टि गर्ने अवस्था नभएको बताए।
अमृताको माइती पक्षले सिद्धार्थ राजमार्गको बुटवल-बेलहिया सडकखण्डको जानकीनगरमा हरेक दिन साँझ ५ बजेदेखि ७ बजेसम्म नाराबाजी र दीप प्रज्वलन गर्दै आएका छन्।
उता घरतर्फ मृतकका श्रीमान्, सासू र ससूरा गरी परिवारका तीन जना नै प्रहरी हिरासतमा छन्। ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले माइती पक्षको माग बमोजिम घटनाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान टोलीबाट भइरहेको बताए।
चैत ३० गते साँझ झण्डै ८ः३० बजे माइतबाट सकुशल घर पुगेकी अनिताको ९ः५० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो।
माइतीबाट हासीखुशी घर गएकी अमृता घर पुगेको १ घण्टामा बाँच्न चाहेको भन्दै गुहार मागेर दाइलाई म्यासेज पठाउनु, घटनास्थलमा नेपालमा बिक्री वितरण गर्न प्रतिबन्धित विषादीको बट्टा फेला पर्नु, विषसेवन गरेको भनिएको कोठाको ढोका खुल्लै रहनुले घटना झन् रहस्यमयी भएको छ।
वैशाख १५, २०७९ बिहीबार १३:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।