सिर्जना सिंहको योजना : सुशासनसहितको सुरक्षित सहर

सिर्जना सिंहको योजना : सुशासनसहितको सुरक्षित सहर

काठमाडौँ :  पाँच दलीय गठबन्धनबाट काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले आफूले जितेमा सुशासन सहितको सुरक्षित सहर बनाउने दाबी गरेकी छिन्। काठमाडौँमा सङ्कल्प पत्र सार्वजनिक गर्दै उनले महानगरको सेवामा सुधार गर्न सुशासन पहिलो सर्त भएको बताउँदै भनिन्' घरै फोहोर छ भने कसरी सुशासन दिन सक्छु! त्यसैले पहिला म सुशासनबाटै सुधार सुरु गर्छु।'

उनले फोहोर समस्या समाधान गर्न घरबाट कम फोहोर सडकमा आउने र सडकमा आएका फोहोर रिसाक्लिङ गर्ने प्रविधि अपनाउने दाबी गरिन्। उनले ठुला कुरा नगरी साना कामहरूबाट सुधारको प्रारम्भ गर्ने आफ्नो योजना रहेको उनले बताइन्।

उनले फुटपाथमा आनन्दले हिँड्न मिल्ने सहर र साइकलको सहर बनाउने आफ्नो योजना रहेको बताउँदै उनले भनिन्'ट्राफिक जामहीन सहर निर्माणका लागि कामको प्रकृति अनुसार टाइम टेबल मिलाउँछु।'

प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरेर खाल्डाखुल्डी नभएको सडक बनाउन प्रयास गर्ने, काठमाडौँको सडक बत्तीको सुविधा बढाएर बेलुका पनि उज्यालो बनाउने र सिसिटिभी जडान गरेर बेलुका काम गरेर घर फर्कने महिलाहरूले सुरक्षित महसुस गर्न सक्ने वातावरण बनाउने दाबी गरिन्।

'म मेयरमा निर्वाचित भएमा आफैँ रातभर हिँडेर काठमाडौँको सहर सुरक्षित भएको अनुभव गरेपछि महिलाहरूलाई ल अब बेलुका हिँड्न सुरक्षित छ भन्छु।'

उनले काठमाडौँवासीको स्वास्थ्य उपचारको सुविधाका लागि महानगरीय अस्पताल निर्माण गर्ने र विशेषतः बृद्धबृद्धाको स्वास्थ्य सुविधामा विशेष जोड दिने बताए। उनले बस स्टपहरूमा निःशुल्क खानेपानी उपलब्ध गराउने, निःशुल्क शौचालय सुविधा उपलब्ध गराउने योजना रहेको उनले बताइन्।

युवाका लागि खेलकुद र महिलाका लागि आयआर्जनको कार्यक्रमहरू कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको उनले बताइन्।

'मलाई पार्टीले विश्वास गर्यो। अब महानगरवासीले विश्वास गरेर सेवा गर्ने मौका दिनेमा विश्वस्त छु,' उनले भनिन्

 

वैशाख १५, २०७९ बिहीबार १३:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।