काठमाडौंको मेयर जित्नु भनेको ५० वटा अरू नगर जिते जस्तै हो: कांग्रेस प्रवक्ता महत

काठमाडौंः नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले काठमाडौं महानगरको मेयर जित्नु अरू ५० नगरपालिका जिते सरह हुने बताएका छन्। गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहको चुनावी संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन्।
'पहिलो पटक काठमाडौं महानगरले महिला उम्मेदवार पाउँदैछ। यो सबैको लागि गर्वको विषय हो। भोलि अवसर दिँदा पनि किन नजिताएको भन्ने दिन आउनसक्छ। यसको मेयर जित्नु भनेको ५० ओटा अरू नगर जिते जस्तै हो', महतले भने।
उनले राजनीति मनोरञ्जन नभएको भन्दै एमालेका तर्फबाट काठमाडौंका मेयर उम्मेदवार केशव स्थापितप्रति कटाक्ष गरे।
'केशव स्थापितले भन्नुभयो गेम इज ओभर रे। म भन्छु उहाँको गेम इज ओभर। बागमतीमा धेरै पानी बगेको छ। बितेको समय फर्केर आउँदैन। राजनीति भनेको मनोरञ्जन होइन', उनले भने।
उनले निर्वाचन आयोगबाट आचारसंहिता उल्लंघन भएको भन्दै पत्र आएको विषय उठाउँदै भने, 'हामीले ओलीले गफ गर्छन् हामी काम गर्छौ भन्यौं। आचारसंहिता भनेको उहाँहरूको प्रशंसा मात्र हो कि? म आयोगको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। डबल स्ट्यान्डर्ड लागू हुन हुँदैन।'
यस्तै उनले ओलीको सरकारको नेतृत्त्व गरिरहेको भए नेपाल श्रीलंकाको बाटोमा गइसक्ने पनि आरोप लगाए।
वैशाख १५, २०७९ बिहीबार १३:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।