'प्रकाशमान अलि रुखो छन्, सिर्जना बटर जस्तै सफ्ट छिन्'

'प्रकाशमान अलि रुखो छन्, सिर्जना बटर जस्तै सफ्ट छिन्'

काठमाडौंः नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले यसपालिको चुनाव गठबन्धन भर्सेज एमालेको रहेको बताएका छन्। सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले यस निर्वाचनमा गठबन्धनले हार्नु भनेको कांग्रेससहित माओवादी र एकीकृत समाजवादीको नाक खुम्चिनु रहेको बताएका छन्। उनले भने, 'यसपालिको चुनाव भनेको गठबन्धन भर्सेज एमाले हो। केपी ओलीले संसद विघटन गरेपछि बाध्यात्मक अवस्थामा गठबन्धन बनेको हो। एकल पार्टीको सरकार बन्न गाह्रो रहेछ। अबको सरकार भनेको गठबन्धनको सरकार हो। गठबन्धनले हार्नु भनेको पहिलो कांग्रेसको नाक खुम्चिनु हो दोस्रो माओवादी र तेस्रो एकीकृत समाजवादीको नाक खुम्चिनु हो।'

उनले गठबन्धन हार्दा मुलुक नै दुर्घटनामा पर्ने पनि बताए।

यस्तै प्रधानले आफूले २०६४ सालमै ६ सय मतले पराजित गरेका स्थापितलाई महानगरको नेतृत्त्व सुम्पिए महानगर नै अस्थिर हुने बताए।

'तिनको अस्थिर चरित्र छ। आफ्नै नेतालाई भ्रष्टाचारी भने तिनले। त्यस्तो व्यक्तिको हातमा महानगरको नेतृत्त्व पुग्यो भने महानगर नै अस्थिर हुन्छ। त्यस्ता हावा कुरा गरेर हुँदैन', उनले भने।

यस्तै प्रधानले काठमाडौंको मेयरमा सिर्जना उपयुक्त पात्र रहेको बताउँदै नेता प्रकाशमान सिंहलाई 'प्रकाशमान' बनाउन सिर्जनाको ठूलो हात रहेको बताएका छन्। 'प्रकाशमान अलि रुखो छन्, सिर्जना बटर जस्तै सफ्ट छिन्', उनले भने।

वैशाख १५, २०७९ बिहीबार १२:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।