डिप्रेशन पीडित आमा-छोरा पर्खालबाट हामफाले, आमाको मृत्यु, छोरा गम्भीर घाइते

काठमाडौंः मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा बस्दै आएका आमा–छोरा एकैसाथ पर्खालबाट हामफाल्दा आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन्। मोरङ सुन्दर हरैचा नगरपालिका–९ विराटचोक घर भएका उनीहरू ५० मिटर अग्लो पर्खालबाट हामफालेका थिए।
कमेरोटारमा डेरा नजिकैको पिपल चौतारोबाट उनीहरू हामफालेका हुन्। मृत्यु हुनेमा ७४ वर्षीया मनमाया तिमिल्सिना रहेकी छिन्। उनको घटनास्थलमै मृत्यु भएको हो। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार मृतकका कान्छो छोरा ४९ वर्षीय मातुराम तिमिल्सिनाको मध्यपुर अस्पतालमा प्राथमिक उपचारपश्चात वीर अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे प्रारम्भिक अनुसन्धान गर्दा उनीहरू दुवै डिप्रेशनको बिरामी रहेको र लामो समयदेखि औषधि सेवन गर्दै आइरहेको पाइएको छ। घटनास्थलमा सुसाइड नोट समेत भेटिएको छ। नोटमा १९ वर्षदेखि डिप्रेसनको औषधि सेवन गर्दा भएको शारीरिक र मानसिक पीडा सहन नसकी मृत्यु रोजेको विषय उल्लेख भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए।
वैशाख १५, २०७९ बिहीबार १२:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।