बागी उम्मेदवारलाई देउवाको निर्देशन: भोलि साँझ ५ बजेसम्म मनोनयन फिर्ता लिनू

बागी उम्मेदवारलाई देउवाको निर्देशन: भोलि साँझ ५ बजेसम्म मनोनयन फिर्ता लिनू

काठमाडौंः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारहरूलाई मनोनयन फिर्ता लिन निर्देशन दिएका छन्। आज एक अपिल सार्वजनिक गर्दै देउवाले पार्टी र गठबन्धनको बागीको रूपमा उठेका उम्मेदवारहरूलाई मनोनयन फिर्ता लिन भनेका हुन्।

उनले देश, संविधान र गणतन्त्रलाई जोगाउन लोकतान्त्रिक र परिवर्तनकारी शक्तिहरूबीच चुनावी तालमेल गरिएको उनले स्पष्ट पारेका छन्। उनले लेखेका छन्, 'एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थितिप्रति म जानकार छु। तर पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी’ भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठबन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु।'

उनले देश, लोकतन्त्र र पार्टीको हितमा वर्तमान र भावी परिस्थितिको आकलन गरी आ-आफूले दर्ता गराएको उम्मेदवारी वैशाख १६ गते ५ बजेभित्र फिर्ता लिन र गठबन्धनमा रहेका उम्मेदवारहरूलाई विजय गराउन सक्रियताका साथ लागिपर्न पनि अपिल गरेका छन्।

वैशाख १५, २०७९ बिहीबार ११:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।