तनहुँका तीन पालिकाको प्रमुखमा ६ महिलाको उम्मेदवारी

तनहुँः यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँका तीन पालिकाको प्रमुखमा ६ महिलाको उम्मेदवारी परेको छ। व्यास नगरपालिकाको प्रमुखमा चार तथा देवघाट गाउँपालिका र म्याग्दे गाउँपालिकाको अध्यक्षमा एक/एक महिलाले मनोनयन दर्ता गराएका हुन्।
नेपाली कांग्रेसबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी रानाले मनोनयन दर्ता गराएकी छिन्। उनले दोस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिएकी हुन्।
यस्तै व्यास नगरपालिकाको प्रमुखमा मङ्गोल नेशनल अर्गनाइजेशनबाट अनिता थापा मगर, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)बाट अञ्जना थापा, स्वतन्त्रबाट पार्वती कार्की र राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना थापाको उम्मेदवारी परेको छ।
देवघाट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट सुशीला नेपालले उम्मेदवारी दर्ता गराएकी छिन्।
सत्ता गठबन्धनको भागबण्डाले गर्दा तीन पालिकामा प्रमुख दलबाट प्रमुख/उपप्रमुखमा महिलाले नेतृत्त्व गर्ने अवसर गुमाएका छन्। कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट शुक्लागण्कीको प्रमुख, उपप्रमुखमा पुरुषको मात्रै उम्मेदवारी परेको छ। कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनबाट भीमाद नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा पुरुषको उम्मेदवारी परेको छ।
कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनबाट घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि पुरुषको मात्रै उम्मेदवारी परेको छ।
वैशाख १५, २०७९ बिहीबार १०:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।