नारायणगढको कमलनगरमा भीषण आगलागी, क्षतिको विवरण सङ्कलन हुँदै

नारायणगढको कमलनगरमा भीषण आगलागी, क्षतिको विवरण सङ्कलन हुँदै

चितवनः नारायणगढको कमलनगर चोकमा भीषण आगलागी भएको छ। गए रातिदेखि लागेको आगो आज बिहान ७ बजे मात्र निभाइएको छ।

स्थानीय तुलसीराम सापकोटाको चार तले घरमा आगो लागेको हो। यतिबेला क्षतिको विवरण सङ्कलन हुँदैछ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सेना, प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो निभाइएको हो। 

गए राति नै आगलागी भए पनि प्रहरीले भने बिहान २ बजे मात्रै थाहा पाएको हो। लगत्तै टोली घटनास्थलमा पुगेर आगो निभाउन सुरु गरेको थियो।

आगो निभाउन भरतपुर महानगरपालिकाको एउटा, खैरहनी नगरपालिकाको दुई वटा र नेपाली सेनाको एउटा दमकल प्रयोग गरिएको थियो। प्रहरीका अनुसार विष्णुप्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसल, वसन्त कार्कीको श्री कृष्ण सप्लायर्स, शङ्कर सापकोटाको जुत्ता पसल, वासुदेव आचार्यको फेन्सी पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सी पसलमा आगलागीबाट क्षति पुगेको छ।

वैशाख १५, २०७९ बिहीबार ०९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।