बौद्ध विश्वविद्यालय र प्रकृति संरक्षण कोषबीच पर्यापर्यटनमा सहकार्य गर्ने सम्झौता

बौद्ध विश्वविद्यालय र प्रकृति संरक्षण कोषबीच पर्यापर्यटनमा सहकार्य गर्ने सम्झौता

बुटवलः लुम्बिनी बौद्ध विश्वविद्यालय र प्रकृति संरक्षण कोषबीच आपसी सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सहमति पत्रमा विश्वविद्यालयका उपकुलपति प्रा.डा हृदयरत्न बज्राचार्य र प्रकृति संरक्षण कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीले हस्ताक्षर गरेका थिए।

दुवै संस्थाबीच पाँच वर्षका लागि भएको सहमति पत्रमा स्थलगत अनुसन्धान कार्यक्रम, संरक्षण र विकाससँग सम्बन्धित परम्परागत ज्ञान र प्रविधिको प्रवर्द्धन, सामुदायिक हितका लागि पर्यापर्यटनमा सहकार्य गर्ने उल्लेख छ।

बौद्ध विश्वविद्यालयले देवदहस्थित वनक्षेत्रमा स्थानीयलाई आयआर्जन हुनेगरी पर्यावरणीय क्षेत्रमा कार्य गर्नका लागि सहकार्य भएको जनाएको छ। विश्वविद्यालयले बुद्ध मावली सामुदायिक वन क्षेत्रको करिब ९२ बिघा जमीन सरकारको निर्णयबाट प्राप्त गरेको छ। सो जंगल क्षेत्रमा तपोवन निर्माण गरी अध्ययन अनुसन्धान र आयमुलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।

विश्वविद्यालयका उपकुलपति बज्राचार्यले बौद्ध संस्कृतिमा रहेर तपोवन निर्माण गर्ने योजना रहेको बताए। यो तपोवन विद्यार्थीका लागि अनुसन्धान र आयआर्जन गर्ने स्थानका रूपमा रहने र नमुना वन क्षेत्र बन्ने विश्वास उनले व्यक्त गरे।

विश्वविद्यालयले देवदहमा हाल कृषि विज्ञान र विकास अध्ययन विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गरिरहेको छ।

कार्यक्रममा संरक्षण कोषका सदस्यसचिव अधिकारीले विश्वविद्यालयसँग सहकार्य गरी अध्ययन अनुसन्धानमा कोषले काम गर्न चाहिरहेको बताए। बौद्ध दर्शनमा रहेर पर्यावरणीय क्षेत्रमा कार्य गर्न सकिने र छिट्टै ठोस योजना बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा विश्वविद्यालयका डिन उकेशराज भुजु, डा. माणिकरत्न शाक्य, अनुसन्धान निर्देशक प्रा.डा. गीतु गिरी, परीक्षा नियन्त्रक इन्द्र काफ्ले, प्रकृति संरक्षण कोषका कार्यक्रम व्यवस्थापक डा. चिरञ्जिवीप्रसाद पोखरेल लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए।

लामो समयदेखि पर्यावरण संरक्षणमा कार्य गर्दै आएको कोषले प्राज्ञिक विषयमा आबद्ध भई अनुसन्धान कार्य गर्ने गरी विश्वविद्यालयसँग सहकार्य सम्बन्ध जोडेको हो।

वैशाख १५, २०७९ बिहीबार ०८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।