चितवनका असन्तुष्ट नेता-कार्यकर्ता फकाउन देउवाले खटाए गृहमन्त्री खाँण

काठमाडौँ : भरतपुर महानगरपालिकामा कांग्रेस नेता कार्यकर्ताले देखाएको असन्तुष्टि सम्बोधन गर्न कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई खटाएका छन्।
प्रधानमन्त्री देउवाको निर्देशनपछि गृहमन्त्री खाँण बुधवार दिउँसो नै भरतपुर जाँदै छन्। काठमाडौँमा तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले प्रधानमन्त्री देउवाको निर्देशनपछि चितवनमा गठबन्धन बलियो बनाउने गरी भूमिका खेल्न आफू त्यसतर्फ जान लागेको बताएका थिए।
‘म भैरहवा जाने कार्यक्रम थियो। तर, सभापतिज्यूले ‘तिमी चितवन जाऊ, र पार्टीका साथीहरूसँग छलफल गरेर गठबन्धनलाई अघि बढाउने काम गर्नू’ भन्ने निर्देशन गर्नुभयो, चितवन जाँदै छु,’ कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले भने।
भरतपुरमा सत्ता गठबन्धन दलबिच चुनावी तालमेल हुँदा महानगरको मेयर पद माओवादी केन्द्रको भागमा परेको छ भने कांग्रेस नेता कार्यकर्ताले त्यसको विरोध गर्दै आएका छन्।
असन्तुष्ट कार्यकर्ताको तर्फबाट नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्। गठबन्धनका लागि भरतपुरको मेयरमा माओवादी केन्द्रका तर्फबाट रेणु दाहालले उम्मेदवारी दिएकी छिन् भने उपमेयर पदमा कांग्रेसका महानगर सभापति चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन्।
गठबन्धनको बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारी फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने निर्णय गरेको थियो।
बैठकले गठबन्धनले महानगर र उपमहानगरमा गठबन्धनको निर्णय विपरीत परेका दलगत रूपमा परेका र स्वतन्त्र रूपमा परेका उम्मेदवारीसमेत फिर्ता गर्ने निर्णय गरेको छ। गठबन्धनले नगरपालिका र गाउँपालिकाहरूमा गठबन्धनका दलहरूका बिचमा भइसकेको सिट बाँडफाँट समझदारी विपरीत गठबन्धनभित्रका दलहरूबाट दर्ता भएका उम्मेदवारीहरू समेत फिर्ता गर्ने निर्णय गरेको छ। स्वतन्त्र उम्मेदवारी जुन दलका कार्यकर्ताले दिएका छन्, सम्बन्धित दलले नै पहल गरेर त्यस्तो उम्मेदवारी फिर्ता गराउने गठबन्धनको सहमति छ।
वैशाख १४, २०७९ बुधबार १६:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।