स्थानीय तह निर्वाचनको विपक्षमा रहेका २ नेतालाई निकाले विप्लवले

स्थानीय तह निर्वाचनको विपक्षमा रहेका २ नेतालाई निकाले विप्लवले

काठमाडौँ : स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा सहभागी हुने पार्टीको निर्णय विपरीत गएको भन्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले हेमन्तप्रकाश ओली (सुदर्शन) र धर्मेन्द्र बाँस्तोला (कञ्चन)लाई पार्टीबाट बर्खास्त गरेको छ। 

स्थानीय तहको निर्वाचनमा पार्टीका नेताहरूले विभिन्न तहमा स्वतन्त्र उम्मेदवारी दिए पनि ओली र बाँस्तोला भने यसको विपक्षमा थिए। उनीहरूले पार्टीले क्रान्तिकारी धार छाडेर संसदीय अभ्यासमा गएको भन्दै दुवै नेता विपक्षमा उभिएका थिए।

बुधवार पार्टी महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा बैठकका निर्णय र नेतृत्वविरुद्ध काम गरेको भन्दै बर्खास्त गरिएको उल्लेख छ। विज्ञप्तिमा बैठकका निर्णय र नेतृत्वकाविरूद्ध पार्टी बाहिरका सञ्चारमाध्यममा अराजक तरिकाले अन्तर्वार्ता दिने, कार्यकर्तामाझ नाङ्गो गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गरेको आरोप समेत लगाइएको छ।

पार्टीले पारित गरेका निर्णयहरूको रक्षा गर्ने, आफ्ना कुनै विमति भए पार्टीभित्रै कमिटीमा राख्ने निर्णय गरिए पनि बाहिर फुट परस्त र अराजक अन्तरवार्ता दिएको दुबैमाथि आरोप छ।

चैत पहिलो साता बसेको केन्द्रीय कमिटी बैठकमा स्थानीय तहको निर्वाचनमा सहभागी हुने या नहुनेबारे विवाद भएको थियो। तत्काल यसबारे निर्णय नभए पनि विभिन्न जिल्लामा पार्टीका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

वैशाख १४, २०७९ बुधबार १५:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।