इक्रा नेपालले एनएमबि बैङ्कको रेटिङ्गमा स्तरन्नोती गर्दै ए ग्रेड दियो

इक्रा नेपालले एनएमबि बैङ्कको रेटिङ्गमा स्तरन्नोती गर्दै ए ग्रेड दियो

काठमाडौँ : इक्रा नेपाल लिमिटेडले एनएमबि बैङ्कको विगतको रेटिङ्गलाई स्तर वृद्धि गर्दै ए रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरू समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिने कम्पनीले जनाएको छ।

यस्ता संस्थाहरूमा न्यून कर्जा जोखिम रहेको हुने उसको भनाई छ। इक्रा नेपाल लिमिटेड भारत स्थित आइसिआरए लिमिटेडको सहायक कम्पनीको रूपमा नेपालमा दर्ता भएको नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त रेटिङ्ग एजेन्सी हो।

विगतका वर्षहरूमा विभिन्न संस्थाहरूसँग भएको मर्जर तथा प्राप्तिको सकारात्मक प्रभाव, सो पश्चात् बैङ्कको कर्जाको गुणस्तरमा भएको सुधार, बलियो शाखा सञ्जालको कारण देशव्यापी रूपमा बैङ्कका ग्राहकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि तथा सोबाट बैङ्कको बजार हिस्सामा भएको वृद्धि, पुँजीगत पर्याप्तता तथा तरलताको सहज व्यवस्थापनका कारण बैङ्कको कर्जा तथा तरलताको क्षेत्रमा देखिएको जोखिम व्यवस्थापन गर्न सक्ने क्षमता, कर्जामा भएको विविधता, साना तथा मझौला कर्जामा भएको वृद्धि, बैङ्कको सकारात्मक विगत,असल स्वामित्व तथा कुशल र अनुभवी व्यवस्थापन समेतका आधारमा इक्रा नेपालले बैङ्कलाई यस अघि प्रदान रेटिङ्गमा स्तर वृद्धि गरेको जनाइएको छ।

कोभिड १९ को असरको कारणले देशको समग्र आर्थिक अवस्थामा प्रभाव परिरहेको समयमा समेत बैङ्कको परिसूचकहरूमा देखिएको उल्लेखित सुधारहरूले स्तर वृद्धि सम्भव भएको बैङ्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

एनएमबि बैङ्क द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यांकर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैङ्कको उपाधि ‘बैङ्क अफ द इएर एसिया २०२१’ अवार्डबाट सम्मानित समेत भएको थियो। एनएमबि बैङ्कले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैङ्कको सम्मान ‘बैङ्क अफ द इतर नेपाल’प्राप्त गरिसकेको छ।

एनएमबि बैङ्कको हाल देशभरि २०१ शाखा, १३८ एटिएम, ११ एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।

वैशाख १४, २०७९ बुधबार १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।