बागी उम्मेदवारी फिर्ता गराउन सात बुँदे निर्देशन, सिट बाँडफाँटबारे अझै समझदारी गर्ने गठबन्धनको निर्णय

बागी उम्मेदवारी फिर्ता गराउन सात बुँदे निर्देशन, सिट बाँडफाँटबारे अझै समझदारी गर्ने गठबन्धनको निर्णय

काठमाडौँ : यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा पाँच दलीय गठबन्धनभित्र सहमति कायम गर्न आ–आफ्ना दलका निकायहरुलाई निर्देशन दिने निर्णय गरिएको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको पाँच दलीय गठबन्धनको बैठकले विभिन्न सात बुँदासहितका निर्णय गरेको संयुक्त रुपमा जारी विज्ञप्तिमा जनाइएको छ। 

बैठकले छ महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनको निर्णय विपरीत गठबन्धनभित्रका दलका तर्फबाट दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्न निर्देशन दिने निर्णय भएको छ। गठबन्धनभित्रका पाँच दलका शीर्षनेताहरुले हस्ताक्षर गर्नुभएको सो विज्ञप्तिअनुसार गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरु फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने र छ महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरुमा गठबन्धनभित्रका दलहरुका बीचमा सिट बाँडफाँटको समझदारी गर्ने सहमति भएको छ। 

यस्तै नगरपालिका र गाउँपालिकाहरुमा गठबन्धन दलहरुका बीचमा भइसकेको सिट फाँडफाँट समझदारी विपरीत गठबन्धनभित्रका दलहरुबाट दर्ता भएका उम्मेदवारीहरु फिर्ता गर्ने र गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारीहरु फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्नेछन्। 

यसैगरी विज्ञप्तिमा गठबन्धन दलहरुका बीचमा भइसकेको सिट फाँडफाँट समझदारी हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडाहरु आजै स्थानीय र प्रदेश संयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने र त्यसका लागि स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवश्यक परामर्श र सहयोग लिने तथा गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय पनि भएको छ। 

विज्ञप्तिमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्।

वैशाख १४, २०७९ बुधबार १४:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।