पार्टीको मुल प्रवाहमा फर्किन बागीलाई शेखर कोइरालाको आग्रह

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नै पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी बनेका नेता/कार्यकर्तालाई मुल प्रवाहमा फर्किन आग्रह गरेका छन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै नेता कोइरालाले स्थानीय चुनावको टिकट वितरणमा देशैभरिबाट असन्तुष्टि आइरहेको उल्लेख गरेका छन्।
उनले लामो समयदेखि काम गरिआएका नेता/कार्यकर्ताले पार्टी छाड्नुपर्ने अवस्था आउनु दु:खद भएको पनि बताएका छन्।
उनले अपिलमा भनेका छन्, ‘अहिले म टिकट विरतरणको विषयलाई लिएर साथीहरुको असन्तुष्टि देशभरिबाटै सुन्दैछु। जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित वरिष्ठ साथीहरु यतिखेर पार्टी छाडी अन्य पार्टीमा ओत लाग्न पुगेका छन्।’
कोइरालाले थप भनेका छन्, ‘कैयौँ साथीहरु स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ। ती साथीहरुलाई कांग्रेसको मुल प्रवाहमा फर्कन म आग्रह गर्छु।’
उनले टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने पनि सुनिएको बताएका छन्। उनले पार्टीभित्र न्यायका लागि सधैं आफूहरू लड्ने बताए।
कांग्रेस समर्थक, शुभेच्छुक तथा स्वतन्त्र व्यक्तिहरुबाट निर्वाचन पछि पार्टीभित्र भएका विकृति, विसंगति र आर्थिक चलखेल सबै पक्षको समग्र समीक्षा गरिने पनि अपिलमा उल्लेख गरेका छन्।
वैशाख १४, २०७९ बुधबार ०९:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।