विश्वको धनाढ्यको हातमा पुगेपछि कस्तो होला ट्विटर : निःशुल्क या नाफामुखी
एजेन्सी : एलन मस्क ट्विटरमा धेरै अभिव्यक्ति स्वतन्त्रता अनि कम नियन्त्रणको पक्षमा वकालत गर्दै आएका थिए। राजनीतिक परिवर्तनको अभियान समेत सफल बनाउन सक्ने गरी ट्विटरको प्रभाव बढे पनि यसका केही सेवाहरू भने नियन्त्रणमुखी देखिन्थे।
त्यसमा पछिल्लो समय सामाजिक सञ्जालमा प्रेषित हुने सामाग्री विवादित समेत भएपछि फेसबुक लगायतका प्लेटफर्मले समेत नियन्त्रणमुखी नीतिहरूलाई अगाडि बढाइरहेको बेला मस्कले ४४ अर्ब डलरमा ट्विटर नै किनेका छन्।
पछिल्लो समय सामाजिक सञ्जालमा बढिरहेको हिंसा भड्काउन प्रेरित गर्ने सामाग्री, घृणा फैलाउने अभिव्यक्तिहरू, नक्कली सूचना, चरित्र हत्या हुने सामाग्रीबारे तीव्र बहस भइरहेको बेलामा अब उनले कुन नीति लेलान् ? नियन्त्रणमुखी वा पूर्ण स्वतन्त्र ? चासो बढाइरहेको छ।
ट्विटर किन्नुको उद्देश्य व्यवसायीक देखिन्न। तर भोलिका दिनमा उनले के मोडल अपनाउने हुन् पक्का छैन। उनले केही समय अगाडि ट्विटमा सम्पादन गर्ने बटम आवश्यक छ या छैन भनेर जनमत बुझेका थिए। त्यसमा इडिट बटम राख्ने पक्षमा धेरै मत आएको थियो। यसले ट्विटर प्रयोगकर्ता अब इडिट बटम आउनेमा विश्वस्त देखिन्छन्।
अहिले ट्विटरको व्यावसायिक मोडल भनेको विज्ञापनै हो। मस्कले यो बदल्ने पक्षमा आफ्ना धारणा राखिसकेका छन्। उनले आफू सब्सक्रिप्सन मोडलको पक्षमा रहेको धारणा समेत राखिसकेका छन्।
अधिकांश सामाजिक सञ्जाल अहिले नि:शुल्क मोडलमा चलिरहेको छ। यस्तोमा एकाएक सब्सक्रिप्सन मोडल ल्याउनु पक्कै जोखिमपूर्ण काम हो नै। एलन मस्क विटक्वाइनका पक्षधर हुन्। कतै उनले यो प्रभावशाली प्लेटफर्मलाई बिटक्वाइनको भुक्तानीमा त प्रयोग गर्ने हैनन् भन्ने शङ्का पनि बढाइरहेको छ। पेपाल अनि टेस्ला जस्ता कम्पनीका मालिक समेत रहेका उनी नियम मिच्न समेत खप्पिस देखिन्छन्। यसले समेत कतै अभिब्क्ती स्वतन्त्रताको अङ्ग बनिसकेको ट्विटरको सेवामाथि खेलबाड हुने त हैन भन्ने शङ्का पनि बढाइरहेको छ।
वैशाख १३, २०७९ मंगलबार २१:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।