परमाणु हतियार प्रणाली थप सशक्त बनाउने उत्तर कोरियाको घोषणा

परमाणु हतियार प्रणाली थप सशक्त बनाउने उत्तर कोरियाको घोषणा

एजेन्सी : उत्तर कोरियाका नेता किम जङ–अनले आफ्नो देशले परमाणु हतियारको सङ्ख्या बढाउने घोषणा गरेका छन्। उत्तर कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा प्योङ्याङमा भएको सैन्य प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उत्तर कोरियाली अस्त्रभण्डार अझ बलियो बनाउने घोषणा गरेका हुन्।  

'हामी तीव्र गतिमा हाम्रो देशको पारमाणविक क्षमता सुदृढ बनाउन र विकास गर्न आवश्यक कदम चालिरहने छौँ,' उनले भने। अन्तर्राष्ट्रिय निन्दा र प्रतिबन्धबाट अहिलेसम्म किम विचलित भएको देखिएको छैन। सोमवार उनले भनेका कुराले पनि यसलाई पुष्टि गरेको छ।  

सरकारी समाचार संस्था (केसीएनए) का अनुसार परमाणुअस्त्र प्रयोग गर्ने फौज परिचालित हुन जुनसुकै बेला पनि तयार हुनुपर्ने उनको भनाइ छ। उत्तर कोरियाका परमाणुअस्त्र वस्तुतः आफूविरुद्ध हुन सक्ने सम्भावित युद्धलाई निरुत्साहित गर्ने साधन भए पनि ती अरू उद्देश्यका लागि पनि प्रयोग सकिने उनको भनाइ छ।

उनका शब्दले आफूमाथि आक्रमण भए उत्तर कोरियाले प्रत्याक्रमण गर्ने पुरानो भनाइ प्रतिध्वनित गर्छन्। उत्तर कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा आयोजित उक्त परेडमा प्रतिबन्धित अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आईसीबीएम) पनि प्रदर्शन गरिएको उत्तर कोरियाली समाचार संस्था (केसीएनए)ले जनाएको छ । गत मार्च महिनामा उत्तर कोरियाले सन् २०१७ पछि सबैभन्दा ठूलो आईसीबीएम परीक्षण गरेको थियो।

उत्तर कोरियाली उक्त कदमको संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय समुदायले व्यापक आलोचना गरेका छन्। उक्त परीक्षणपछि संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध घोषणा गरेको छ। परमाणुअस्त्र बोक्न सक्ने गरी बनाइएका ती क्षेप्यास्त्रको मार हान्न सक्ने क्षमता संयुक्त राज्य अमेरिकासम्म रहेको दाबी गरिएको छ।

सोमवारको प्रदर्शनमा ध्वनिको गतिभन्दा तीव्र रूपमा जाने हाइपरसोनिक क्षेप्यास्त्र तथा पनडुब्बीबाट प्रहार गरिने ब्यालेस्टिक क्षेप्यास्त्रहरू पनि प्रदर्शन गरिएका दक्षिण कोरियाली अधिकारीले बताएका छन्। यद्यपि दक्षिण कोरियाली विज्ञहरूले उक्त परीक्षण सफल भएकोबारे आशङ्का व्यक्त गरेका थिए।

प्योङ्याङमा आयोजना हुने सैन्य परेडहरूमा सेनाले प्रायः ट्याङ्क, तोप र सैनिकको लामो लस्करसहित नयाँ अस्त्रहरू पनि प्रदर्शन गर्ने गरेको छ।

वैशाख १३, २०७९ मंगलबार २१:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।