११ उपमहानगरपालिकाको चुनावी अंकगणित : एमालेलाई साख जोगाउनै मुस्किल

काठमाडौं : उम्मेदवारको मनोनयन दर्ता सकिएसँगै देशभरका ११ वटा उपमहानगरपालिकाको चुनावी जोड-घटाउ पनि सुरु भएको छ। सबै उपमहानगरमा सत्ता-गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।
२०७४ सालको स्थानीय निर्वाचनमा एमालेले इटहरी, जितपुरसिमरा, हेटौँडा, बुटवल, घोराही र तुलसीपुर गरी ६ वटा उपमहानगरमा प्रमुख जितेको थियो।
कांग्रेसले धरान, कलैया र धनगढी गरी तीन वटा उपमहानगरपालिकामा झन्डा गाढेको थियो भने राष्ट्रिय जनता पार्टीले जनकपुर र राप्रपा नेपालले नेपालगञ्जमा विजय हासिल गरेका थिए।
समग्र स्थानीय तह निर्वाचनमा तेस्रो बनेको नेकपा माओवादी केन्द्रले भने कुनै पनि उपमहानगरमा जित हासिल गर्न सकेको थिएन। अहिले सत्ता गठबन्धनमा भागबन्डा हुँदा माओवादीले जितपुरसिमरा र घोराही उपमहानगरपालिका प्रमुख पाएको छ।
बुटवल उपमहानगरपालिका
बुटवल उपमहानगरपालिकामा सत्ता-गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा एकीकृत समाजवादीका चिनबहादुर गुरुङको उम्मेदवारी दर्ता भएको छ। एमालेबाट बाबुराम भट्टराई मेयरमा र सावित्रादेवी अर्यालले उपमेयरमा उम्मेदवारी दिएका छन्।
२०७४ सालको स्थानीयमा बुटवलमा एमालेका शिवराज सुवेदी २३ हजार २४९ मत ल्याएर निर्वाचित भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामकृष्ण खाँणले २० हजार ८५१ मत पाएका थिए। त्यसबेला बुटवलमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए। अहिले बुटवलमा एमाले र सत्ता गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिन्छ।
घोराही उपमहानगरपालिका
घोराही उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा माओवादी केन्द्रका हेमराज शर्मा र नेपाली कांग्रेसका भुपबहादुर डाँगीले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्। यहाँ एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा मनकुमारी डिसीले उम्मेदवारी दिएका छन्।
घोराही उपमहानगरपालिकामा गत निर्वाचनमा एमालेका उम्मेदवार नरुलाल चौधरी निर्वाचित भएका थिए। उनले २२ हजार ३० मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डाँडीले १७ हजार ४८४ मत ल्याएका थिए। माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत ल्याएका थिए।
एमालेका उम्मेदवार चौधरी र कांग्रेसका उम्मेदवार डाँगीबीच ४ हजार ५४६ को मतान्तर रहेको थियो। गठबन्धन भएकाले अहिले माओवादीका उम्मेदवार शर्मा ग्रिन जोनमा रहेको मान्न सकिन्छ।
तुलसीपुर उपमहानगरपालिका
तुलसीपुर उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा समाजवादीका जोगबहादुर रानाले उम्मेदवारी दिएका छन्। एमालेबाट मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।
तुलसीपुर उपमहानगरपालिकामा प्रमुखमा एमालेका उम्मेदवार घनश्याम पाण्डे २२ हजार ८५७ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मत ल्याएका थिए भने माओवादी केन्द्रका उम्मेदवार शेशुराम भण्डारीले ८ हजार ६ सय ९३ मत ल्याएका थिए।
एमालेका उम्मेदवार पाण्डे र कांग्रेसका उम्मेदवार गिरीबीच ३ हजार ९५४ मतको फरक थियो। गठबन्धनका उम्मेदवार भएकाले यस पटक गिरी सुरिक्षित देखिन्छन्।
नेपालगञ्ज उपमहानगरपालिका
यो उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जसपा नेपालका कमरुद्दिन राईले उम्मेदवारी दिएका छन्। एमालेबाट पशुपतिदयाल मिश्रले मेयरमा र शान्तिदेवी ढकालले उपमेयरमा उम्मेदवारी दिएका छन्।
नेपालगञ्जमा २०७४ को स्थानीय निर्वाचनमा राप्रपाका उम्मेदवार धवलशमशेर राणा १२ हजार ५१५ मतसहित मेयरमा निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. सुरेश कनोडियाले ८ हजार ७३० मत ल्याएका थिए। माओवादी केन्द्रका दामोदर आचार्यले ७ हजार १९८, एमालेका समसुद्दिन सिद्दिकीले ६ हजार ९६५ मत ल्याएका थिए।
सत्ता गठबन्धनमा रहेका दलका उम्मेदवारले मेयरमा पाएको मत २१ हजार ३६९ रहेको छ। जुन एमाले उम्मेदवारले पाएको मतभन्दा १४ हजार ४०४ मतले बढी हो। अहिले राप्रपा विभाजन भएको अवस्था छ। जसले गर्दा गठबन्धनका उम्मेदवारलाई सहज देखिन्छ।
धनगढी उपमहानगरपालिका
धनगढी उपमहागरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा नेपाली कांग्रेसका नृप वड र उपमेयरमा नेकपा माओवादी केन्द्रका शान्ति अधिकारीले उम्मेदवारी दिएका छन् भने एमालेबाट मेयरमा रणबहादुर चन्दले र उपमेयरमा कन्दकला राना थारुले उम्मेदवारी दर्ता गराएका छन्।
२०७४ को स्थानीय निर्वाचनमा धनगढीमा नेपाली कांग्रेसका वड १४ हजार ३२४ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७, तेस्रो स्थानका माओवादी केन्द्रका उम्मेदवारले १० हजार २०९ र चौथो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवारले ९ हजार ९४६ मत ल्याएका थिए।
सत्तारुढ गठबन्धनमा रहेका दलहरुले २०७४ सालमा पाएको मत जोड्दा २४ हजार ७०४ पुग्छ। जुन एमालेले प्राप्त गरेको मतभन्दा १४ हजार ७५८ बढी हो। एमालेलाई नयाँ मतदाता र हमालले पाएको मत तान्नुपर्ने हुन्छ। यथास्थितिमा सत्ता गठबन्धनलाई नै सहज देखिन्छ।
धरान उपमहानगरपालिका
धरान उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका किशोर राई र उपमेयरमा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले उम्मेदवारी दर्ता गराएका छन्। एमालेबाट मेयरमा मञ्जु काफ्ले र उपमेयरमा पदम लिम्बुले उम्मेदवारी दर्ता गराएका छन्।
धरानमा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुब्बा २० हजार ९७५ मतसहित निर्वाचित भएका थिए। उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले १६ हजार १०२ मत ल्याएका थिए।
२०७६ मंसिरमा भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार तिलक राई २६ हजार ७०९ मत ल्याएर विजयी भएका थिए। सो समयमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाका उम्मेदवार प्रकाश राईले २३ हजार ९१४ मत ल्याएका थिए।
२०७४ सालको निर्वाचनमा दलहरुले पाएको मतमात्र हेर्दा सत्ता गठबन्धनका दलहरुले पाएको मत २७ हजार २८२ थियो। जुन एमाले उम्मेदवारले पाएको मत भन्दा ६ हजार १८० ले कम हो। नयाँ मतदाताको मत आकर्षित गर्न सकेमा धरानमा एमालेलाई सहज हुनेछ।
इटहरी उपमहानगरपालिका
इटहरी उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका हेमकर्ण पौडेलले मेयरमा र समाजवादीका केशवबहादुर विष्टले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्। एमालेबाट मेयरमा यमकुमार सुब्बा र उपमेयरमा संगीता चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।
इटहरी उपमहानगरपालिकामा २०७४ सालको स्थानीय निर्वाचनमा एमालेका द्वारिकलाल चौधरी २२ हजार ६८९ मत ल्याएर निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका रोहित प्रसाईंले १९ हजार ९८५ मत ल्याएका थिए। राप्रपाका रोहितबहादुर कार्कीले ३ हजार ७१५ मत ल्याउँदा माओवादीका उम्मेदवार हरिमाया जिमीले ३ हजार ३६४ मत ल्याएका थिए।
हाल गठबन्धनमा रहेका दलका उम्मेदवारले पाएको मत २३ हजार ७१९ देखिन्छ। यस हिसाबले सत्ता गठबन्धन एमालेभन्दा एक हजार ३० मतले अगाडि देखिन्छ। इटहरीमा चुनाव प्रतिस्पर्धात्मक बन्ने देखिन्छ।
जनकपुर उपमहानगरपालिका
जनकपुर उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा जसपा नेपालका लालकिशोर साह र उपमेयरमा नेपाली कांग्रेसका किशोरी साहले उम्मेदवारी दिएका छन्। एमालेबाट मेयरमा शिवशंकर साह ‘हिरा’ र उपमेयरमा रुना झाले उम्मेदवारी दिएका छन्।
जनकपुर उपमहानगरपालिकामा २०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीका लालकिशोर साह निर्वाचित भएका थिए। उनले २१ हजार ९०३ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी बनेका कांग्रेस उम्मेदवारले ११ हजार १६४ मत ल्याएका थिए। एमालेका लक्ष्मी नारायण भगले ४ हजार ८६५ मल ल्याउदा संघीय समाजवादी फोरमका विष्णुदेव साहले ३ हजार ६१२ मत ल्याएका थिए।
तत्कालीन राजपाका महेन्द्रनारायण यादवले नेतृत्व गरेको एउटा समूह जसपामा रहेको छ। जनकपुरमा एमालेलाई कठिन पर्ने देखिन्छ।
जितपुरसिमरा उपमहानगरपालिका
जितपुरसिमरामा सत्तारुढ गठबन्धनबाट मेयरमा माओवादी केन्द्रका राजन पौडेल र उपमेयरमा नेपाली कांग्रेसका मेघा शाहीले उम्मेदवारी दिएका छन्। एमालेबाट मेयरमा सरस्वतीदेवी चौधरी र उपमेयरमा भोला अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।
२०७४ सालको स्थानीय निर्वाचनमा जितपुरसिमरामा एमालेका उम्मेदवार कृष्ण पौडेल १४ हजार ८६५ मत ल्याएर निर्वाचित भएका थिए भने उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णवर्त सिंहले ११ हजार ९९५ मत ल्याएका थिए। माओवादीका राजन पौडेलले ११ हजार २५१ मत ल्याएका थिए। गठबन्धनमा आवद्ध दलका उम्मेदवारले पाएको मत जोड्दा २३ हजार ३०४ मत ल्याएको देखिन्छ। यो एमालेको भन्दा ८ हजार ४३९ मत बढी हो।
कलैया उपमहानगरपालिका
कलैया उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका राजेशराय यादवले मेयरमा र जसपा नेपालका प्रमोदप्रसाद गुप्ताले उपमेयरमा उम्मेदवारी दिएका छन्। यहाँ एमालेबाट विनोद साहले मेयरमा र रौशन प्रविनले उपमेयरमा उम्मेदवारी दिएका छन्।
कलैयामा २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवार राजेश राय यादवले १० हजार ९०३ मत ल्याएर निर्वाचित हुँदा एमाले उम्मेदवार विनोदप्रसाद शाहले १० हजार ७१६ मत ल्याएका थिए। संघीय समाजवादी फोरम (हालको जनता समाजवादी पार्टी) का उम्मेदवार प्रमोदप्रसाद गुप्ताले ९ हजार ४०४ मत ल्याएका थिए। अहिलेको सत्तारुढ गठबन्धनमा आवद्ध दलका उम्मेदवारले २४ हजार ६७८ मत पाएका छन्। कलैयामा एमालेलाई कठिन हुने देखिन्छ।
हेटौंडा उपमहानगरपालिका
हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका मीना लामा र उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले उम्मेदवारी दिएका छन् भने एमालेबाट अनन्त पौडेलले मेयरमा र सुमित्रा काफ्लेले उपमेयरमा उम्मेदवारी दिएका छन्।
हेटौंडा उपमहानगरपालिकामा गत स्थानीय निर्वाचनमा एमालेका हरिबहादुर महत २३ हजार १२४ मत ल्याएर निर्वाचित भए। माओवादी केन्द्रको समेत समर्थन पाएका कांग्रेस उम्मेदवार आनन्दराम पराजुलीले २२ हजार ५०९ मत ल्याएका थिए। राप्रपाका मधुकरप्रसाद अधिकारीले ६ हजार ८५७ मत ल्याएका थिए। हेटौंडा एमालेको लागि सहज देखिन्छ।
वैशाख १३, २०७९ मंगलबार २०:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।