नेताको परिवार मोह : श्रीमती, भाइ, छोरी र छोरालाई उम्मेदवारीमा आरक्षण

नेताको परिवार मोह : श्रीमती, भाइ, छोरी र छोरालाई उम्मेदवारीमा आरक्षण

काठमाडौँ : नेपाली कांग्रेसले स्थानीय तह सम्बन्धी जारी गरेको घोषणा पत्रमा स्थानीय तहका जनप्रनितिधीले मनोनीत गर्दा आफ्नो परिवारका सदस्यहरूलाई नराख्ने वाचा गर्यो। तर यो वाचा उम्मेदवारीमै तोड्यो। सरकारमा रहेका पाँच दलिय गठबन्धनबाट पार्टीगत उम्मेदवारी चयन गर्दा कांग्रेसबाट टिकट पाउने २ जना पार्टीका प्रभावशाली नेताका परिवारका सदस्य नै छन्।

काठमाडौँ महानगरपालिकाको मेयरको टिकट पाएकी सिर्जना सिंहको योग्यता महानगरको विकासमा राजनीतिक रूपमा उनले निभाएको सक्रियताभन्दा प्रकाशमान सिंहको श्रीमती हुनु नै देखिन्छ।

नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा केन्द्रीय प्रतिनिधि बनेकी उनी महानगरका सार्वजनिक सरोकारमा सक्रिय देखिएकी छैनन्। कांग्रेस वृत्तमा पनि उनको परिचय नेतृभन्दा प्रकाशमानको श्रीमती अर्थात् 'भाउजू' नै हो।

सामाजिक सञ्जालमा सिंह परिवारका सदस्यहरूको राजनीतिक योगदान प्रचार गर्नमै बढी केन्द्रित रहेकी उनीभन्दा बढी सक्रिय र सार्वजनिक परिचय निर्माण गरेका उम्मेदवार हुँदाहुँदै पनि आफ्नो श्रीमानको जोड बलमा उनी गठबन्धनको तर्फबाट महानगरको मेयरको उम्मेदवार बन्न सफल भइन्।

परिवारवादको प्रभावले टिकट पाउन नसक्दा पाँच वर्षसम्म प्रतिस्पर्धी दल एमालेका मेयर विद्यासुन्दर शाक्यसँग पौठेजोरी खेलेर सम्पदा संरक्षणमा खटेकी उपमेयर हरि प्रभा खड्गीले मेयरको टिकट पाउन सकिनन्। अहिले उनी सिर्जनाको प्रचारक भएर हिँड्न बाध्य छिन्।

सिर्जनाले आफैँ उम्मेदवार बन्ने इच्छा राखेपछि प्रकाशमानकै समूहबाट काठमाडौँमा राजनीति गरिरहेकी खड्की जस्तै अन्य आकाङ्क्षीले सामान्य असन्तुष्टि समेत जनाउन सकेनन्। भित्रभित्रै असन्तुष्टि भए पनि उनको उम्मेदवारी सर्वसम्मत झैँ देखाइयो काठमाडौँमा।

'मेरो सार्वजनिक परिचय सिंह परिवारको सदस्य हो' भन्नेमा उनी पनि जानकार छिन्। त्यसैले महानगरको मेयरको उम्मेदवार बनेर मंगलबारबाट प्रचारमा जाँदा उनी आफ्ना अजेन्डाहरु भन्दा पनि आफू राजनीतिमै सक्रिय रहेको पुष्टि गर्न समय खर्चने गरेकी छिन्।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि गठबन्धनको फाइदा उठाउँदै आफ्नै श्रीमतीलाई गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाए जनता समाजवादी पार्टीबाट।

उनकी श्रीमती जलेखा खातुन पर्साको जगरनथपुर गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनेकी छिन्। मुख्यमन्त्रीकी श्रीमती उम्मेदवार बन्ने पक्का भएपछि जगरनथपुर गाउँपालिकाबाट गत निर्वाचनमा विजयी भएकी उपाध्यक्ष बिस्मिल्लाह खातुनले पार्टी नै छाडिन्। उनी माओवादी केन्द्रमा प्रवेश गरिन्।

अर्का छन् रामकृष्ण खाँण। उनको आफ्नै राजनीतिक पृष्ठभूमि भए पनि राजनीतिमा आँड भरोसा भने दाइ बालकृष्ण खाँण नै हुन्। रुपन्देहीमा सक्रिय उनी गत स्थानीय तहको निर्वाचनमा पनि तिलोत्तमा नगरपालिकाको मेयरको उम्मेदवार बनेका थिए। तर पराजित भए।

कांग्रेस रुपन्देहीको सभापति भएपछि उनले मेयरमा आफ्नै नाम सिफारिस गराए। केन्द्रमा उनलाई सघाउन केन्द्रीय सदस्य समेत रहेका दाइ बालकृष्ण थिदै थिए। उनैले टिकट पाए।

भरतपुर महानगरपालिकाको मेयरमा दोहोरिन रेणु दाहालले मेयरका रूपमा गरेको कामको मात्रै साथ थिएन। सबैभन्दा ठुलो साथ उनको बाबु तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै देखियो।

माओवादी सशस्त्र सङ्घर्षमा रहँदादेखि नै पार्टीमा सक्रिय भएको दाबी गरिए पनि गत निर्वाचनमा उम्मेदवार हुनेदेखि पुन मतदान गराएर निर्वाचित हुने बेलासम्म प्रचण्डको छोरीको प्रभाव देखिएको थियो नै।

यस पटक चितवनका नेपाली कांग्रेसका नेता-कार्यकर्ता पूर्ण रूपमा विपक्षमा हुँदा पनि भरतपुरको मेयरको टिकट माओवादीकै नाममा लेखाउन पनि उनै प्रचण्डकै भूमिका महत्त्वपूर्ण देखियो।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विराटनगरको उपमेयरको उम्मेदवार बनाउँदै आफ्नो छोरा अमरेन्द्र यादवलाई राजनीतिमा ल्याउने प्रयास गरेका छन्। उनको राजनीतिक योगदान पहिलो उपेन्द्रको छोरा हुनु नै हो। दोस्रो उनी आफ्नै बाबुको सचिवालयमा बसेर काम गर्दै आएका थिए।

उनको यी दुवै योग्यता हाबी हुँदा गत निर्वाचनमा मेयरको उम्मेदवार बनेर तेस्रो लोकप्रिय मत ल्याएका उमेश यादवले टिकट नपाउने पक्का थियो। त्यसैले उनले राजीनामा दिए र मेयरको स्वतन्त्र उम्मेदवार बने। 

यसमा सभामुख अग्नि सापकोटा पनि अछुतो रहेनन्। उनले सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाको मेयर माओवादीको कोटामा पारे र टिकट दिए आफ्नै भाइ  कृष्णप्रसादलाई।

अग्निका प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता मोहन बस्नेत पनि कसरी निष्क्रिय बस्न सक्छन् र। उनले पनि काकाको छोरा बालकृष्ण बस्नेतलाई बाह्रबिसे नगरपालिकाको मेयरको उम्मेदवार बने।

वैशाख १३, २०७९ मंगलबार १९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।