संसारको सैन्य खर्चमा भारत तेस्रो स्थानमा

संसारको सैन्य खर्चमा भारत तेस्रो स्थानमा
तस्बिर: विजनेस टुडे 

स्टोकहोम : संसारको सैन्य खर्चमा भारत तेस्रो स्थानमा परेको छ। सैन्य खर्चमा अमेरिका र चीनपछि भारतले तेस्रो स्थान ओगटेको हो। स्टोकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री)ले सोमबार नयाँ रिपोर्ट सार्बजनिक गर्दै सो जानकारी दिएको हो। जसमा सैन्य क्षेत्रमा सबैभन्दा बढी खर्च गर्नेमा अमेरिका, चीन र भारत रहेका छन्। संसारको सैन्य खर्च सन् २०२१ मा २.१ ट्रिलियन अमेरिकी डलर पुगेको सिप्रिले जनाएको छ।   

‘सन् २०२१ मा विश्वको सैन्य खर्च ०.७ प्रतिशतले बढेर २ ट्रिलियन ११३ बिलियन अमेरिकी डलर पुगेको छ’ सिप्रिले विज्ञप्तिमार्फत भनेको छ, ‘विश्व कोभिड १९ महामारीले गिरेको अर्थतन्त्रकाबीच सन् २०२१ मा अमेरिका, चीन, भारत, बेलायत र रुसले सबैभन्दा बढी सैन्य खर्च गरेका छन्। शीर्ष पाँच स्थानमा रहेका मुलुकहरूले कुल ६३ प्रतिशत रकम सैन्य क्षेत्रमा गरेका छन्।’

सन् २०२१ मा अमेरिकाले सैन्य क्षेत्रमा गरेको खर्च ८०१ विलियन अमेरिकी डलर पुगेको छ, जुन सन् २०२० को तुलनामा भने १.४ ले कम हो। यद्यपि, सन् २०१२ देखि २०२१ को समयावधिमा अमेरिकाले सैन्य क्षेत्रमा २४ प्रतिशत बढिले खर्च गरेको छ।

यस्तै सन् २०२१ मा चीनको सैन्य खर्च २९३ विलियन अमेरिकी डलर पुगेको छ जुन सन् २०२० को तुलनामा ४.७ प्रतिशतले बढी हो। भारतले ७६.६ विलियन अमेरिकी डलर सैन्य क्षेत्रमा खर्च गरेको छ जुन खर्च सन् २०२० को तुलनामा ०.९ प्रतिशतले बढी हो। 

वैशाख १३, २०७९ मंगलबार १९:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।