कांग्रेसबाट निकालिएका मल्ल भन्छन्, ‘देउवासँग प्रचण्ड–माधव छन् हामी जस्ता कार्यकर्ता किन चाहियो ?’

कांग्रेसबाट निकालिएका मल्ल भन्छन्, ‘देउवासँग प्रचण्ड–माधव छन् हामी जस्ता कार्यकर्ता किन चाहियो ?’

काठमाडौँ : नेपाली कांग्रेसले डडेलधुराका पूर्व सभापति कर्ण मल्ललाई पार्टीबाटै निष्कासन गर्यो। साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दा विधान विपरीत मल्लले गरेका कामका विषयमा भने कारबाही पत्रमा खुलाइएको छैन।

‘नेपाली कांग्रेस डडेलधुराका निवर्तमान सभापति एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) विपरीतका गतिविधि गरेकाले निजलाई नेपाली कांग्रेसको सदस्यसमेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ,’ मुख्यसचिव कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मल्ल पार्टीको जिल्ला अधिवेशनदेखि नै पार्टी संस्थापनको विपक्षमा उभिँदै आएका थिए। उनी पार्टीमा इमानदार कार्यकर्ताको कुनै महत्त्व नै नभएको दाबी गर्छन्।

‘प्रचण्ड, माधव नेपाल, बाबुराम जस्ता नेताहरू शेरबहादुर देउवासँग जोडिएका छन्। हामी जस्ता कार्यकर्ता किन चाहियो ?,’ कर्णले उकेरासँग भने। कारबाहीको विषय के थियो भन्ने प्रश्नमा मल्लले भने, ‘त्यो उहाँहरूलाई सोध्नुस् त्यसपछि म जवाफ दिउँला।’

पार्टी विधानसम्मत अधिवेशन समेत नगराएको मल्लको भनाइ छ।

‘पार्टीको जिल्ला सभापतिलाई गरेका अधिवेशनहरू वैधानिक हुन्छन् ? मल्लले भने, ‘पार्टी विधानसम्मत चलेको छैन, सभापति पनि विधान सम्मत चयन भएका होइनन्।'

जिल्ला तहबाट अवैधानिक प्रतिनिधिले जिताएका सभापति अवैधानिक भएको मल्लको भनाइ छ। अब कांग्रेस बिपीबाट करुवा चुनाव चिन्ह लिएर उम्मेदवार भएकालाई जिताउन लाग्ने उनको योजना छ।

‘कांग्रेसका इमानदार कार्यकर्तालाई शेरबहादुर देउवाको प्रताडनाबाट उम्मेदवारी दिएका छन् म उनीहरूलाई जिताउन लाग्छु,’ मल्लले भने।

वैशाख १३, २०७९ मंगलबार १९:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।