आठ लाख बढी सरकारी रकम हिनामिना गर्ने वन अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ : मुगुको सोरु गाउँपालिका–१ जवलधारादेखि काछसम्मको पदमार्ग निर्माण नै नगरी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
पदमार्ग निर्माणनै नगरे पनि बिल बनाएर आठ लाख ८७ हजार ६ रुपैयाँ अनियमितता गरेको आरोपमा ६ जनामाथि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगले डिभिजन वन कार्यालय मुगुका अधिकृत भरतबहादुर बुढथापा, सब–इन्जिनियर गोरसिंह बढुवाल, असिस्टेन्ट सब–इन्जिनियर रवीन्द्र शाही, पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष बास्तोला शाही, सचिव बिसु नेपाली र कोषाध्यक्ष हरिबहादुर शाहीमाथि मुद्दा दायर गरेको हो।
जिल्लाको सोरु गाउँपालिका–१ जवलधारास्थित काछदेखि छोटासम्म पदमार्ग निर्माण कार्य गर्दा उपभोक्ता समिति र प्राविधिकको मिलेमतोमा हुँदै नभएको कामको समेत बढी मुल्याङ्कन गरी झुट्टा विल बनाई योजनाको विनियोजित रकम पुरै भुक्तानी दिई सरकारी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला मुगु सोरु गाउँपालिका–१ स्थित काछदेखि छोटासम्मको पर्यटक पदमार्ग निर्माणको लागि डिभिजन बन कार्यालय, मुगुबाट आ.व. २०७५–०७६ मा बिनियोजित रकमबाट उक्त कार्य गर्ने क्रममा लागत इस्टिमेटमा उल्लेख गरे अनुसार कार्य नगरी, भएको कार्यभन्दा बढी परिमाण उल्लेख गरी नापी किताब, भुक्तानी बिल तयार गरी, फिल्डमा कार्य नगरी रू, ८,८७,६५३।७७ खाने उद्देश्यले काम नगरेको परिमाणको बढी रकम भुक्तानी लिने–दिने कार्य गरी रकम हिनामिना गरी सरकारी वा सार्वजनिक सम्पत्ति बदनियत पूर्वक हानि नोक्सानी पुर्याइएको हुँदा उक्त कार्यमा संलग्न कर्मचारी र निर्माण उपभोक्ता समितिका पदाधिकारीहरूको हकमा देहायबमोजिमको सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
वैशाख १३, २०७९ मंगलबार १५:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।