एलन मस्क बने ट्वीटरका नयाँ मालिक: ४४ बिलियन डलरमा किने कम्पनी

एलन मस्क बने ट्वीटरका नयाँ मालिक: ४४ बिलियन डलरमा किने कम्पनी

एजेन्सीः टेस्लाका सीईओ तथा संसारकै धनी एलन मस्कको पोर्टफोलियामा अर्को कम्पनी पनि थपिएको छ। उनले विश्वचर्चित सामाजिक सञ्जाल ट्वीटर खरिद गरेका छन्।

मस्कले ४४ बिलियन अमेरिकी डलरमा ट्वीटर खरिद गरेका हुन्। मस्कसँग ट्वीटरको ९ प्रतिशत शेयर पहिल्यै थियो। अब नयाँ डिलसँगै मस्कसँग शतप्रतिशत शेयर हुनेछ।

योसँगै ट्वीटर अब एक प्राइभेट कम्पनी बनेको छ। ट्वीटरका अन्य सबै शेयरहोल्डरहरूले अब प्रतिशेयर ५४.२० डलर नगद पाउनेछन्।

सोमबार मस्कले एक विज्ञप्ति पनि जारी गरे। भने, 'लोकतन्त्रको आधार वाक स्वतन्त्रता हो। र ट्वीटर एउटा डिजिटल शहर हो जहाँ, मानवताको भविष्यबारे महत्त्वपूर्ण छलफल हुनेगर्छ। ट्वीटरसँग प्रचुर सम्भावना छ। म कम्पनी र समुदायसँग काम गरेर यसलाई उजागर गर्न चाहन्छु।'

फोर्ब्सका अनुसार मस्क संसारकै धनी व्यक्ति हुन्। उनको कुल सम्पत्ति २७३.६ बिलियन अमेरिकी डलर छ। विद्युतीय गाडी टेस्ला र एरोस्पेस फर्म स्पेसएक्स उनको सबैभन्दा चर्चित कम्पनी हो।

वैशाख १३, २०७९ मंगलबार ०७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।