पोखरा महानगरको मेयरको टिकट खोसिएका पौडेलको आरोप, ‘पार्टीभित्रकै षड्यन्त्रकारीले चरित्र हत्या गरे’

पोखरा महानगरको मेयरको टिकट खोसिएका पौडेलको आरोप, ‘पार्टीभित्रकै षड्यन्त्रकारीले चरित्र हत्या गरे’

पोखराः पोखरा महानगरपालिकाको मेयरको टिकट पाएर पनि खोसिएका नेता दीपक पौडेलले पार्टीभित्रका षड्यन्त्रकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भ्रममा पारेर आफूलाई उम्मेदवार बन्नबाट रोकेको आरोप लगाएको छन्। नेता पौडेलले पार्टीले दिएको टिकट खोसेर कृष्ण थापालाई दिएपछि सोमबार यसबारे मुख खोल्दै पार्टीभित्रका केही षड्यन्त्रकारीले योजनाबद्धरूपमा आफ्नो चरित्र हत्या गरेको बताएका हुन्।

एमाले केन्द्रीय सचिवालय बैठकले १० गते पौडेललाई पोखराको मेयर उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, सामाजिक सञ्जालमा उनले औंठी चोरेको भनिएको भिडियो भाइरल भएपछि भोलिपल्टै पार्टीले टिकट फिर्ता लिएर कृष्ण थापालाई दिएको थियो। थापाले आफ्नो उम्मेदवारी दर्ता पनि गराइसकेका छन्।

पौडेलले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी पार्टीमा गरेको योगदानको आधारमा आफूले मेयरको टिकट पाएपछि आफ्नै पार्टीका षड्यन्त्रकारी तत्वहरूले दुराग्रह राखी चार वर्ष अगाडिको भिडियो सम्पादन गरेर चरित्र हत्या गर्न खोजेको बताएका छन्।

नेता पौडेलले उक्त भिडियो झुटो भएको दावी गरेका छन्। उनले भने, ‘चार वर्ष पहिलेको भिडियो सम्पादन गरेर झुटो आरोप लगाइयो। सम्पादित भिडियो देखाएर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भ्रममा पार्ने दुस्प्रयास गरे। पार्टीको सचिवालय बैठकले मलाई वैशाख १० गते मेयर पदको उमेदवार बनाएको थियो। पार्टी अध्यक्षज्युले टेलिफोन गरी उपयुक्त समयमा कुनै जिम्मेवारी बहन गर्नेागरी निर्णय परिवर्तन गर्न सुझाव माग्नुभयो। म पार्टीको इमानदार सिपाही भएको हुँदा पार्टीले गर्ने जुनसुकै निर्णय शिरोपर गर्ने वचनबद्धता प्रकट गरेँ।’

पौडेलले पार्टीको सचिवालय बैठकको निर्णयविपरीत आएको अप्रत्यासित निर्णयप्रति भने असहमति रहेको बताए। उनले पार्टी कमिटीको अन्तिम आधिकारिक निर्णयविरुद्ध आएको अर्को निर्णयका बारेमा पार्टी कमिटीको बैठकमै बहस गर्ने बताए।

उनले आफ्नो बारेमा आएका केही समाचार भ्रमपूर्ण, झुटा र कपोलकल्पित भएको उल्लेख गरे।

उनले भने, ‘मेराविरुद्ध आएका समाचार भ्रमपूर्ण र कपोलकल्पित छन्। यसमा कुनै सत्यता छैन। यदि कुनै कमी कमजोरी भए पार्टी एवं सम्बन्धित निकायबाट छानबिन गर्न अपिल गर्दछु।' 

नेता पौडेलले आफूले कुनै पनि लाभको पद पाउनका लागि अर्कालाई होच्याउने कार्य कहिल्यै नगरेको बताउँदै अरूलाई मिथ्या आरोप लगाएर पदको लागि मरिहत्ते गर्ने हर्कतविरुद्ध सधै संघर्ष गरिरहने उल्लेख गरे।

वैशाख १२, २०७९ सोमबार २२:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।