गठबन्धनले टुङ्ग्यायो पोखरामा उपमेयर, कांग्रेसकी कोपिला भइन् उम्मेदवार

पोखराः सत्ता गठबन्धनले पोखरा महानगरपालिकाको उपमेयर पदमा कोपिला रानाभाटलाई उम्मेदवार बनाएको छ। यसअघि मेयरमा एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यलाई उम्मेदवार बनाएको गठबन्धनले उपमेयरमा कांग्रेस कास्कीकी कोषाध्यक्ष रानाभाटलाई उम्मेदवार बनाएको हो।
योसँगै गठबन्धन र एमाले दुवै दलले उपप्रमुखमा महिला उम्मेदवारलाई उठाएका छन्। पोखरा महानगरको उपमेयरका लागि अन्तिम समयसम्म तीन जना आकांक्षी देखिएपछि अन्ततः रानाभाटलाई उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस कास्कीका सचिव भानुभक्त ढकालले उकेरालाई बताए।
आचार्य लायन्स लगायतका संघसंस्थामा रहेर नेतृत्त्वदायी भूमिका निर्वाह गरिसकेका छन्। रानाभाट विभिन्न भातृसंगठनमा आबद्ध हुँदै पार्टी राजनीतिमा लागेकी नेतृ हुन्।
मेयरमा आचार्य र उपमेयरमा रानाभाटले टिकट पाएसँगै पोखरा महानगरमा चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ।
आज उम्मेदवारको मनोनयन दर्ता गर्ने अन्तिम दिन भए पनि २ घण्टा बाँकी हुँदासम्म पनि दलहरूले आफ्नो पार्टीबाट उम्मेदवार सार्वजनिक गर्न सकिरहेका छैनन्। कांग्रेसले भर्खरै मात्र पोखरा महानगरको उमप्रमुखमा रानाभाटलाई उम्मेदवार बनाए पनि वडा अध्यक्षहरूको नाम अहिलेसम्म गोप्य नै राखिएको छ।
यता एमालेले पनि आजै मात्र उम्मेदवार तय गरेको हो। एमालेले मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ। महानगरको ३३ वटै वडामा एमालले उम्मेदवार सार्वजनिक गरिसकेको छ।
पाँच दलीय गठबन्धनका कारण आकांक्षी धेरै भएपछि उम्मेदवार चयन गर्न गठबन्धनलाई हम्मे-हम्मे परेको छ।
वैशाख १२, २०७९ सोमबार १५:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।