झापामा टुङ्गिए कांग्रेसका उम्मेदवार, दुई पालिकामा महिला उठे प्रमुखमा

झापामा टुङ्गिए कांग्रेसका उम्मेदवार, दुई पालिकामा महिला उठे प्रमुखमा

झापाः नेपाली कांग्रेसले आउँदो स्थानीय तह निर्वाचनका लागि झापामा आफ्नो उम्मेदवारहरूको टुङ्गो लगाएको छ। तीमध्ये दुई पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाइएको छ।

दमक नगरपालिकामा प्रमुख पद राप्रपालाई छाडेको छ कांग्रेसले। बाँकी १४ पालिकाको प्रमुख पदमा आज निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराउने कार्यक्रम तय भएको छ। 

कांग्रेसबाट विर्तामोडको प्रमुखमा भोजराज सिटौला, भद्रपुरमा गणेश पोखरेल, शिवसताक्षीमा पर्शुराम ढुङ्गाना, गौरादहमा रोहित शाह, कनकाईमा रुद्र चिमरिया, मेचीनगरमा केशव पाण्डे र अर्जुनधारा नगरपालिकामा रञ्जिता कार्की उम्मेदवार हुने भएका छन्।

कांग्रेस प्रदेश सचिव कृष्ण हुमागाईंका अनुसार बाह्रदशी गाउँपालिकाको अध्यक्षमा खड्ग राजवंशी, गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी, कमल गाउँपालिकाको अध्यक्षमा हुकुमसिंह राई, झापा गाउँपालिकाको अध्यक्षमा जयनारायण शाह, कचनकवल गाउँपालिकाको अध्यक्षमा कालेन्द्र राजवंशी, हल्दिबारी गाउँपालिकाको अध्यक्षमा तुलसी ओली उम्मेदवार बन्ने भएका छन्।

यी सबै पालिका उपप्रमुख माओवादीको भागमा परेको छ। माओवादीको उम्मेदवार हालसम्म टुङ्गो लागेको छैन।

वैशाख १२, २०७९ सोमबार १३:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।