काठमाडौंको मेयरमा सिर्जना सिंह, ललितपुरमा फेरि चिरिबाबु

काठमाडौंः पाँच दलीय गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंह उम्मेदवार बन्ने भएकी छिन्।आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस संसदीय समितिको बैठकले सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती समेत हुन्। उनी पार्टीगत राजनीतिमा संलग्न भए पनि प्रत्यक्ष राजनीतिमा सहभागी हुन लागेको यो पहिलो पटक हो। नेपाल महिला संघ हुँदै राजनीतिमा आएकी उनी प्रकाशमानलाई राजनीतिमा सघाउँदै आएकी थिइन्।
आज दिउँसो उनले मनोनयन दर्ता गराउने भएकी छिन्।
यस्तै ललितपुर महानगरको मेयरमा गठबन्धनका तर्फबाट कांग्रेसका चिरिबाबु महर्जन उम्मेदवार रहने भएका छन्। हालका समेत मेयर रहेका चिरिबाबु पार्किङ ठेक्कामा विवादमा आए पनि ललितपुरमा मेयरको रूपमा उनले प्रभावकारी काम गरेका छन्।
दुवै उम्मेदवारलाई मनोनयनको तयारी गर्न पार्टीबाट निर्देशन आइसकेको छ। महानगर र उपमहानगरको नेतृत्त्व छान्ने जिम्मा पाएका पार्टी सभापति शेरबहादुर देउवाले दुवै महानगरको नेतृत्त्व टुंग्याएका हुन्।
प्रतिस्पर्धी एमालेले भने काठमाडौंबाट केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
वैशाख १२, २०७९ सोमबार १२:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।