गठबन्धनबाट विराटनगरको मेयरमा शेखरनिकट नागेश कोइराला

गठबन्धनबाट विराटनगरको मेयरमा शेखरनिकट नागेश कोइराला

इटहरीः नेपाली कांग्रेस मोरङका जिल्ला उपसभापति नागेश कोइराला विराटनगर महानगरपालिकाको मेयरका उम्मेदवार भएका छन्। पाँच दलीय गठबन्धनको साझा उम्मेदवारको रूपमा कोइरालाले टिकट पाएका हुन्।

उपमेयर जनता समाजवादीको भागमा परेपछि मेयरमा कांग्रेसले कोइरालालाई उम्मेदवार बनाएको हो।

डा. शेखर कोइरालानिकट मानिने नागेश विराटनगरका प्रभावशाली नेता हुन्। कांग्रेसभित्र लामो समयको रक्साकस्सीपछि सोमबार बिहान मात्र उम्मेदवार तय भएको हो।

पार्टी सभापति शेरबहादुर देउवाले आफूनिकट अमृत अर्याल, डा. डिला संग्रौला र भीमप्रसाद पराजुलीमध्ये एकलाई उम्मेदवार बनाउनुपर्ने अडान लिएका थिए। तर कोइराला समूहले नागेशको नाममा जोड दिएपछि उम्मेदवार छनोट गर्ने समय लम्बिएको थियो। 

नेकपा एमालेले आइतबार नै महानगर अध्यक्ष सागर थापालाई मेयरको उम्मेदवार बनाएको छ। गठबन्धन र एमाले दुवैबाट युवा नेताहरू उम्मेदवार भएकाले विराटनगरको चुनाव रोचक हुने अनुमान गरिएको छ।

वैशाख १२, २०७९ सोमबार ११:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।