इटहरीको उपमेयरमा गठबन्धनबाट केशव विष्ट

इटहरीः इटहरी उपमहानगरपालिकाको उपमेयरमा केशवकुमार विष्टले उम्मेदवारी दिने भएका छन्। एकीकृत समाजवादीका नेता विष्टले गठबन्धनको तर्फबाट उम्मेदवारी दिन लागेका हुन्।
गठबन्धनबीच भागबण्डा मिलाउँदा इटहरीको मेयर कांग्रेस र उपमेयर एकीकृत समाजवादीको भागमा परेको थियो।
समाजवादीले विष्टलाई इटहरीको मेयर बनाउनुपर्ने दावी गरेको थियो। पछि उपमेयरमा सहमति जुटेपछि पार्टीले विष्टको नाम सिफारिस गरेको हो।
सुरुमा उपमेयर अस्वीकार गरेका विष्टले पार्टीको निर्णय मानेर जाने बताए। पार्टी बलियो बनाउन उठ्नैपर्ने दबाब आएपछि बाध्य भएको उनको भनाइ छ।
वडासम्म नै गठबन्धन कायम राख्ने भनिए पनि कांग्रेसले उम्मेदवार तय नगर्दा वडाध्यक्ष र सदस्यमा अझै सहमति हुन सकेको छैन।
सोमबारसम्म मनोनयन दर्ता गर्नुपर्ने समय रहेकाले सबै दलहरूले वडास्तरमा मनोनयन गर्ने तयारी थालेका छन्।
धरान उपमहानगरपालिकामा पनि मेयर कांग्रेसले पाएको छ। उपमेयर माओवादीको भागमा परेको छ।
माओवादीबाट आइन्द्रविक्रम बेघाले उपमेयरमा टिकट पाएका छन्। कांग्रेसको उम्मेदवार टुङ्गो लाग्न नसक्दा अझै मनोनयन दर्ता हुन सकेको छैन।
प्रदेश १ का दुई उपमहानगर र एक महानगर विराटनगरमा समेत गठबन्धनका दलहरूले हालसम्म मनोनयन दर्ता गरेका छैनन्।
वैशाख १२, २०७९ सोमबार ११:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।