पोखराको मेयरमा कृष्ण-धनराज टक्कर, यस्तो छ अंकगणित

पोखरा: पोखरा महानगरपालिकाको मेयरमा एमालेका कृष्ण थापा र गठबन्धनका धनराज आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ। एमाले विभाजन हुनुअघि थापा र आचार्य दुवै एमालेबाट सक्रिय राजनीतिमा थिए।
गठबन्धनबाट एकीकृत समाजवादीलाई पोखराको मेयर दिने सहमति भएपछि पूर्वएमाले र एमालेबीच प्रतिस्पर्धा हुने भएको हो।
गठबन्धनका तर्फबाट उपमेयर पाएको नेपाली कांग्रेसले उम्मेदवार टुंगो लगाउन सकेको छैन। एमालेका तर्फबाट उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाइएको छ।
महानगरको नेतृत्त्वमा पुग्न कांग्रेस, एमाले, राप्रपा, स्वतन्त्र लगायतका झण्डै दुई दर्जनभन्दा बढीले आकांक्षा देखाएका थिए। त्यसमा बहालवाला प्रदेश मन्त्रीदेखि प्रदेश सांसदसम्म थिए।
पोखरामा दुई ठूला दल नेपाली कांग्रेसका तर्फबाट मेयरको उम्मेदवार बन्न १२ र एमालेका तर्फबाट १३ जनाले आकांक्षा देखाएका थिए। पार्टीमा आकांक्षीको संख्या अत्यधिक भएपछि दुवै पार्टीका महानगर कमिटीहरूले उम्मेदवारको नाम लिस्ट जिल्ला, प्रदेश हुँदै केन्द्रमै पठाएका थिए।
गठबन्धनका तर्फबाट पोखराको मेयरको उम्मेदवार बनेका धनराज आचार्य नेकपा समाजवादीका कास्की जिल्ला अध्यक्षका साथै पार्टीको केन्द्रीय सदस्य समेत हुन्।
एमाले विभाजन भएसँगै माधव नेपाललाई साथ दिएका आचार्यको कम्युनिष्ट पार्टीमा आबद्धता चार दशकभन्दा लामो छ। २०२६ सालमा कास्कीको भरतपोखरीमा जन्मिएका आचार्यले २०३९ सालमा विद्यालयमै अनेरास्ववियू प्रारम्भिक कमिटीबाट विद्यार्थी राजनीति सुरु गरेका थिए।
उनी क्याम्पस स्तरको अध्ययनका लागि पृथ्वीनारायण क्याम्पसमा २०४४ सालमा भर्ना भएसँगै एमाले निकट अनेरास्ववियू प्रारम्भिक कमिटीमा आबद्ध भएर सक्रिय राजनीतिमा लागे।
पोखराको यस्तो छ अंकगणित
२०७४ को निर्वाचनमा पोखराको मेयरमा एमालेका मानबहादुर जिसीले ६० हजार ११८ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए।
जिसीले कांग्रेस उम्मेदवार रामजी कुँवरलाई साढे १३ हजार मतले पराजित गरेका थिए।
उपमेयरमा एमालेकी मञ्जु गुरुङले ५६ हजार ४४८ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत ल्याएकी थिइन्।
माओवादीले मेयरमा कांग्रेसलाई सघाएकाले उपमेयरमा गोमा ढकाललाई उम्मेदवार बनाएको थियो। ढकालले उपमेयरमा ८ हजार ७९६ मत ल्याएर तेस्रो भएकी थिइन्।
गत निर्वाचनमा पोखरा महानगरका ३३ वडामध्ये एमालेले २२ र कांग्रेसले ११ वडाध्यक्षमा विजय हासिल गरेको थियो।
वैशाख १२, २०७९ सोमबार ११:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।