५८.५५ प्रतिशत मत ल्याएर फ्रान्सको राष्ट्रपतिमा पुनः म्याक्रों विजयी, युरोपेली नेताहरूको त्रास सकियो

५८.५५ प्रतिशत मत ल्याएर फ्रान्सको राष्ट्रपतिमा पुनः म्याक्रों विजयी, युरोपेली नेताहरूको त्रास सकियो

एजेन्सीः फ्रान्सको राष्ट्रपतिमा इम्मानुएल म्याक्रों विजयी भएका छन्। प्रतिस्पर्धी उम्मेदवार मरिन ले पेनलाई हराउँदै उनी दोस्रो कार्यकाल राष्ट्रपति निर्वाचित भएका हुन्।

म्याक्रोंले कुल खसेको मध्ये ५८.५५ प्रतिशत मत ल्याएर विजयी हुँदा पेनले ४१.४५ प्रतिशत मत प्राप्त गरेकी थिइन्। 

जितपछि म्याक्रोंले आफ्ना समर्थकमाझ निर्वाचन सकिएको र आफू 'सबैको राष्ट्रपति' बन्ने बताए। पेनले आफू पराजित भए पनि आफूले प्राप्त गरेको मतले विजय नै इङ्गित गरेको बताइन्।

पेनका अनुसार आफ्नो दल नेशनल र्यालीले प्रतिनिधित्व गरेको विचार नयाँ उँचाइमा पुगेको छ। पेनलाई अति दक्षिणपन्थी धारको नेतृत्त्वकर्ता मानिन्छ।

विजयपछिको सम्बोधनका क्रममा म्याक्रोंले आफ्ना अधिकांश मतदाताहरूले किन अति दक्षिणपन्थीलाई मतदान गरे भन्नेबारे जवाफ खोज्नुपर्ने बताए। दक्षिणपन्थी उम्मेदवारको रूपमा पेनले प्राप्त गरेको मत हालसम्मकै अत्यधिक हो।

'यो मेरो जिम्मेवारी हो, र उनीहरूको जो मेरो वरिपरि छन्', म्याक्रोंले भने।

म्याक्रोंको जितलाई यूरोपेली मुलुकका नेताहरूले स्वागत गरेका छन्। उनीहरू पेनको यूरोपियन यूनियनविरोधी विचारबाट त्रसित थिए।

यूरोपियन कमिशनका अध्यक्ष उर्सुला भों देर लेयनले भने, 'फ्रान्स र युरोपलाई सँगसँगै लैजानेछौं।'

यस्तै युद्धग्रस्त मुलुक युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले म्याक्रोंलाई 'सच्चा साथी'को संज्ञा दिँदै सबल र एकताबद्ध युरोप हेर्न चाहेको बताए।

बेलायतका प्रधानमन्त्री बोरिस जनसनले पनि म्याक्रोंलाई जितको लागि बधाई दिए।

वैशाख १२, २०७९ सोमबार ०८:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।