१८ करोडभन्दा बढी राजश्व छलीको आरोपमा मुद्दा दायर

१८ करोडभन्दा बढी राजश्व छलीको आरोपमा मुद्दा दायर

काठमाडौंः १८ करोडभन्दा बढी राजश्व छली गरेको आरोपमा राजश्व अनुसन्धान विभागले विभिन्न कम्पनीका सञ्चालक तथा साझेदारविरुद्ध मुद्दा दायर गरेको छ। नक्कली बीजक तयार पारी राजश्व छलेको भन्दै मुद्दा चलाइएको हो।

काठमाडौं महानगरपालिका- १३ बाफल बस्ने शुभलक्ष्मी इन्टरनेशनलका प्रोपाइटर तथा गणपति ट्रेड लिङ्क, एचवी ट्रेड एण्ड सप्लायर्स र एमके इन्टरनेशनलसमेतका मुख्य कारोबारी मनिषकुमार अग्रवाल, सोही ठाउँ बस्ने एचबी ट्रेड एण्ड सप्लायर्सका साझेदार तथा गणपति ट्रेड लिङ्कका खाता सञ्चालक र एमके इन्टरनेशनलको कारोबारमा संलग्न हितेषकुमार अग्रवालविरुद्ध विभागले मुद्दा दायर गरेको हो।

यस्तै एमके इन्टरनेशनलका प्रोप्राइटर प्रमित महर्जन, एचबी ट्रेड एण्ड सप्लायर्सका साझेदार विमल अग्रवाल र सोही ठाउँ बस्ने गणपति ट्रेड लिङ्कका प्रोप्राइटर दीपेन्द्रकुमार अग्रवालविरुद्ध पनि आइतबार मुद्दा दायर गरिएको विभागले जनाएको छ।

शुभलक्ष्मी इन्टरनेशनल समेतका कम्पनीले राजश्व चुहावट गर्ने मनसायस्वरूप नक्कली तथा झुटा मूल्य अभिवृद्धि करको विजक किनेर वित्तीय विवरण तथा आय विवरण तयार पारी आयकर ऐन, मूल्य अभिवृद्धि कर ऐन तथा नियम बमोजिम तिर्नुपर्ने कर नतिरी राजश्व चुहावट गरेको फेला परेको विभागले एक सूचना जारी गरी जनाएको छ।

उनीहरूले राजश्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संसोधनसहित)को दफा ३ ले निषेधित गरेको र सोही ऐनको दफा ४(क), (च) र (झ) बमोजिमको कसुर गरेको विभागले दावी गरेको छ। 

अनुसन्धानका क्रममा रु १८ करोड ५ लाख ६८ हजार विगो बराबरको राजश्व छली गरेको पाइएको भन्दै विभागले बिगो असुल गरी शतप्रतिशत जरिवाना तथा कैद सजायको मागदावी गरेको छ। 

वैशाख १२, २०७९ सोमबार ०८:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।