मेयरमा ह्याट्रिक गर्ने दौडमा 'उडन्ते योजनाका मास्टर'

काठमाडौँ : आफ्नै पार्टीका मुख्यमन्त्रीले अनुशासनहीन काम गरेको भन्दै मन्त्री पदबाट बर्खास्त गरेका केशव स्थापितलाई एमालेले काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने निर्णय गर्यो। बागमती प्रदेशमा भौतिक पूर्वाधार तथा विकास मन्त्री भएका उनलाई तत्कालीन मुख्यमन्त्री डोरमणी पौडेलले २०७५ कात्तिक १६ मा बर्खास्त गरेका थिए।
त्यो बेला स्थापितमाथि महानगरको मेयरहुँदा एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। आरोप सार्वजनिक भएसँगै उनलाई राजीनामा गराउन दबाब बढिरहेको थियो।
मुख्यमन्त्री पौडेलले सो घटनाबारे छानबिन पनि गराएका थिए। तर छानबिनको प्रतिवेदन भने सार्वजनिक भएन। त्यही बेला उनी बर्खास्त भए। तर कारण यौन दुर्व्यवहार नभई बैठकमा मुख्यमन्त्री पौडेललाई अपशब्द प्रयोग गरेको लगाइयो।
त्यसयता उनी राजनीतिक रूपमा सक्रिय देखिएका थिएनन्। मेयरका लागती एमाले महानगर कमिटीले वर्तमान मेयर विद्यासुन्दर शाक्य, एमाले महानगर कमिटी अध्यक्ष निर्मल देउला र एमाले नेता इन्दिरा पन्तको नाम सिफारिस गरेको थियो।
सत्ता गठबन्धनको उम्मेदवारलाई पराजित गर्न सक्ने उम्मेदवारको खोजी गर्दा पार्टी अध्यक्ष केपी ओलीको छनौटमा परे उनी।
ह्याट्रिक गर्ने दाउ
२०५४ मा एमालेबाट महानगरपालिकाको मेयरको उम्मेदवार बनेका थिए स्थापित। मेयरमा उनी विजयी भए। कार्यकाल सकिए पनि अस्थिर राजनीतिका कारण स्थानीय निकायको निर्वाचन हुन सकेन।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि उनी २०५९ मा राजाबाट महानगरको मेयरमा नियुक्त भए। उपमेयरमा नियुक्त भए राप्रपाका राजाराम श्रेष्ठ। एमाले विभाजित हुँदा मालेतिर लागेका उनीपछि एमालेमै फर्किएका थिए। केही समय उनी नेपाल प्रजा परिषद्को अध्यक्ष समेत भए।
बिचमा सङ्घीय समाजवादी पार्टीमा गएर काठमाडौँको निर्वाचन क्षेत्र ६ बाट उम्मेदवार पनि बने। तर पराजित भए। डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी काठमाडौँ उपत्यका विकास प्राधिकरणको प्रमुख बनेका थिए।
२०७४ को स्थानीय तहको निर्वाचनमा उनी मेयरका आकाङ्क्षी थिए। विद्यासुन्दर शाक्यले टिकट पाएपछि उनी प्रदेशको राजनीतितिर लागे र विजयी पनि भए। उनी प्रदेश सांसद भएपछि मुख्यमन्त्रीको दाबेदार देखिएका थिए। तर डोरमणी भए मुख्यमन्त्री। उनी भौतिक तथा योजना मन्त्री भएका थिए। उनको मन्त्री कार्यालय त्यति प्रभावकारी हुन सकेन। अन्तमा बर्खास्तीमै परे।
एमालेले सत्ता गठबन्धनको उम्मेदवार हराउन सक्ने उम्मेदवारको खोजी गर्दा २०७४ मा मेयरको उम्मेदवार बन्न नसकेका उनी नै छनौटमा परे। पाँच दलीय गठबन्धनमा काठमाडौँको मेयर कांग्रेसको भागमा परेको छ। तर कांग्रेसले स्थापितको प्रतिस्पर्धी छानिसकेको छैन।
उडन्ते योजनाका मास्टर
स्थापितका विकास मोडल उनकै पाराको छ। अधिकांश उनका परिकल्पनाहरू उडन्ते पाराका देखिन्छन्।उनी कहिले बागमतीमा कन्टेनर गाडेर बालुवा बेचेर धनी हुने कल्पना गर्छन् त कहिले काठमाडौँको रिङ रोडमा लभर्स पार्क बनाउने सपना बाँड्छन्।
उनी प्रदेश मन्त्री भएपछि प्रदेश ३ मा अमेरिका, चीन र जापानको भन्दा पनि अत्याधुनिक नमुना सहर बनाउने दाबी गरेका थिए। त्यसलाई उनी अकल्पनीय मेगासिटी भन्थे। त्यसका लागि साधन र स्रोत पनि जुटाइसकेको उनको दाबी थियो। तर केही पनि भएन उनको कार्यकालमा।
मन्त्री भएपछि उनले प्रदेश ३ मा लभसिटी बनाउने र विश्वका प्रेमी-प्रेमिकाहरू लभ गर्न नेपाल आउने दाबी गरेका थिए। उनी पछिल्लो समय नेपालमा गाँजा खुल्ला गर्नुपर्ने पक्षमा थिए। गाँजाको उत्पादन गरेर निर्यात गरेर त्यो रकम विकासमा खर्च गर्न सकिने उनले दाबी गर्दै आएका छन्।
सडक चौडा गराए तर पुरातात्त्विक क्षेत्र व्यापारीलाई सुम्पिए
काठमाडौँको सडक चौडा बनाउने योजना उनी मनोनीत मेयरहुँदा सुरु गरेका हुन्। उनले सोल्टी मोडबाट कलङ्की जाने सडक चौडा गराउन त्यहाँका केही स्थानीयको सटरमा स्थापित आउँ, सडक चौडा बनाऊँ' भनेर लेख्न लगाएका थिए।
उनको कार्यकालमा माइतीघरमा रहेको निजी घर अधिग्रहण गरेर माइतीघर मण्डला बनाएका थिए। मण्डलालाई स्थापितको कार्यकालको सबैभन्दा राम्रो कामको रूपमा लिइन्छ।
योसँगै पुरातात्त्विक क्षेत्रको व्यापारीकरण पनि उनकै कार्यकालमा सुरु भएको हो। उनी मेयरहुँदा सर्वसाधारणका लागि धरहरा खुल्ला गराउने निर्णय गर्दै साइड वाकर्श प्रालीलाई ठेक्कामा दिएका थिए। धरहरासँगै सुन्धारा क्षेत्र नै साइड वाकर्शले बनाउनु पर्ने भए पनि उनीहरूले धरहरा क्षेत्रमा मात्रै केन्द्रित भए र धरहरा क्षेत्रलाई व्यापारिक प्रयोजनमा दुरुपयोग गरे।
भूकम्पपछि धरहरा ढलेपछि मात्रै साइड वार्कशबाट धरहरा महानगरको स्वामित्वमा आएको थियो।
वैशाख ११, २०७९ आइतबार १९:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।