धेरै चोरी हुने सवारीमा स्कुटर र २२० सिसीको पल्सर मोटरसाइकल

धेरै चोरी हुने सवारीमा स्कुटर र २२० सिसीको पल्सर मोटरसाइकल

काठमाडौँ : धेरै चोरी हुनेमा स्कुटर र २२० सिसीको पल्सर बाइक रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ट्राफिक कार्यालयका प्रवक्ता संजीव दास शर्माका अनुसार उपत्यकाबाट चोरी हुने मोटरसाइकलमा स्कुटर र २२० सिसीका पल्सर बाइक रहेको जानकारी दिए। ‘प्राय सिनेमा हल, मन्दिर, रेष्टुरेन्ट क्षेत्रबाट मोटरसाइकल चोरी भएको देखिन्छ,’उनले भने, ‘पीडितले निवेदन दिएको आधारमा हेर्दा चोरी हुनेमा पल्सर २२० र स्कुटर धेरै देखिन्छ।’

शर्माले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा धेरै मोटरसाइकल–स्कुटर साउन महिनामा १ सय १ चोरी भएका थिए भने सबैभन्दा कम चैत महिनामा ४५ मात्रै चोरी भएका थिए। 

साउनदेखि हालसम्म ७ सय ११ मोटरसाइकल–स्कुटर हराएकोमा नेपाल प्रहरीले ४ सय २ बरामद गरेको छ। यो भनेको हराएको मोटरसाइकलको ५६ प्रतिशत फेला परेको हो।  ‘पीडितले निवेदन दिएको खण्डमा हराएका मोटरसाइकल भेटिएका छन्, प्रवक्ता शर्माले भने, ‘चोरी गर्ने व्यक्ति त कमै फेला पर्छन् मोटरसाइकल भने भेटिन्छ।’

२०७७ साउनमा १ सय १ हराएकोमा ६० भेटिएको थियो भने, भदौ १ सय हराएकोमा ६१,असोजमा हराएको ६० भेटिएको २६, कार्तिकमा हराएको ७५ भेटिएको ३९, मंसिरमा हराएको ८० भेटिएको ३९, पुसमा हराएको ५० भेटिएको ४३, माघमा हराएको ९० भेटिएको ४५, फागुनमा हराएको ८० भेटिएको ३९, चैतमा हराएको मोटरसाइकलको संख्या ४५ भेटिएको ४१ रहेको छ भने यो वैशाख महिना ३० वटा मोटरसाइकल हराएकोमा ९ वटा फेला परेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
 

वैशाख ११, २०७९ आइतबार १६:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।