गगनलाई प्रश्नः अघिल्लो घोषणापत्रको आधारमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि फेल कि पास?

काठमाडौँ : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक गरेको छ।
कांग्रेस महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज (आइतबार) एक कार्यक्रमकाबीच संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। कांग्रेसले उक्त चुनावी घोषणापत्रलाई घोषणापत्र नभनी ‘संकल्प’ को नाम दिइएको छ।
संकल्पपत्र सार्वजनिक गरेपछि महामन्त्री गगन कुमार थापाले यो संकल्पपत्र दुई निर्वाचनलाई छुट्टाएर हेर्न नमिल्ने बताएका छन्। उनले यो पटक पाँच वर्षको मुल्यांकन गरौँ र अब के गर्ने हेरौँ भनेर सुरु गरेको बताए। उनले पाँच वर्षमा समुन्नत नेपालको कुरा उठाएको बताए। उनले भने, 'पाँच वर्ष जिम्मा पाए के–के गर्छौ भन्ने लेखेका छौँ। योजना र तथ्यको मिलान गर्न खोजेका छौँ। यसमा भएका ११ वटा मुद्दा सबै स्थानीय तहमा लागू हुन्छ।'
उनले संकल्पपत्र मार्फत स्थानीय साधन स्रोतको व्यवस्थापन र करको विषयमा बुझाउन खोजिएको बताए। सामाजिक सुरक्षा र न्याय समाज रूपान्तरणको नायक हो भनेर स्थानीय सरकारलाई स्थापित गर्न खोजेको उनले बताए।
उनले लहडको आधारमा अनुत्पादक क्षेत्रमा लगानी नगर्ने संकल्पपत्रमा उल्लेख गरेको बताए। उनले भने, 'मेयर साव, उपमेयर साव भन्ने हुन्छ र टेर्न छोड्छ भन्ने छ। हामीले मेयर साव भन्ने विषय नै हटाउने भनेर संकल्पपत्रमा लेखेका छौँ।'
उनले कांग्रेसले निर्वाचित जनप्रतिनिधिहरूलाई घोषणापत्र अनुसार ट्रेन गर्ने बताए। उनले भने, 'एक वर्षपछि म्याट्रिक्स अनुसार जवाफदेही बनाउँछौं। पार्टीको चुनाव चिन्हबाट लडेपछि जवाफ देही उहाँहरू बन्नुपर्छ।'
फरक प्रसंगमा उनले अघिल्लो घोषणापत्र अनुसार कांग्रेस पार्टी तीन कुरामा चुकेको बताए। उनले भने, 'स्थानीय सरकारले गर्ने काम भन्दा पनि माथिबाटै गर्ने काम भयो। दोस्रो हामीले घोषणापत्र अनुसार बाँध्न सकेनौँ। त्यहाँ फेल भयौँ। तेस्रो खास स्थानीय तहले गर्ने काम छुट्याउन सकेनौँ।'
उनले यो पटक घोषणापत्रमा यी गल्ती हुन नदिन लामो छलफल गरेको बताए। उनले भने, 'कमजोरी हटाउन खोजेको छौँ। आउँदो साल हामी रिपोर्ट कार्ड बनाउन सक्छौँ।'
वैशाख ११, २०७९ आइतबार १५:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।