पोखराको मेयरमा अटेरी अभियानका पौडेलद्वारा मनोनयन दर्ता, कांग्रेसका कार्की बागी उम्मेदवार

पोखराको मेयरमा अटेरी अभियानका पौडेलद्वारा मनोनयन दर्ता, कांग्रेसका कार्की बागी उम्मेदवार

पोखराः पोखरा महानगरपालिकाको मेयर पदका लागि अटेरी अभियानका गनेस पौडेलले मनोनयन दर्ता गराएका छन्। आइतबार पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा गई आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

साहित्यकार समेत रहेका पौडेलको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहेका छन्। उनी दलहरूले राजनीतिक आवरणमा चुनाव लड्दै जनतालाई धोका दिने गरेको र उनीहरुका विरुद्ध मतदान गरेर अटेर गर्न आग्रह गर्दै अटेरी नामक अभियान नै चलाइरहेका छन्।

उम्मेदवारी दर्तालगत्तै पौडेलले राजनीतिक दलहरूको अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेदवारी दिएको बताए। उनले स्थानीय तहको निर्वाचनमा दलीयभन्दा पनि स्वतन्त्र उम्मेदवारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्न आफूले उम्मेदवारी दर्ता गराएको पनि बताए।

पोखरा महानगरको निर्वाचनमा अटेरीका तर्फबाट मेयर पदमा समेत गरी १७ जनाले उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। अहिले निर्वाचन आयोजको कार्यालयमा मुख्य राजनीतिक दलका बाहेक स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरूले मनोनयन दर्ता गराइरहेका छन्।

कांग्रेसबाट बागी उम्मेदवार
यस्तै नेपाली कांग्रेसका नेता विमलबहादुर कार्कीले पनि पोखरा महानगरको मेयरमा बागी उम्मेदवारी दर्ता गराएका छन्। कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनका दललाई मतदान गर्न नेता/कार्यकर्तालाई बाध्य पारेकाले त्यसका विरुद्ध आफूले उम्मेदवारी दर्ता गराएको बताएका छन्।

कार्की नेपाली कांग्रेस पोखरा नगर समितिका पूर्वसभापति हुन्। उनको प्रस्तावकमा फणिन्द्र कार्की र सर्मथकमा खिमबहादुर घर्ती रहेका छन्।

त्यसैगरी पोखरा महानगरपालिका- २६ को वडा अध्यक्षमा नारायण प्रसाद आचार्य, पोखरा- ३ को वडा अध्यक्षमा महेश उदास र पोखरा- ३० को वडा अध्यक्षमा अनिष गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

वैशाख ११, २०७९ आइतबार १३:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।