आयोजना आसपासका बासिन्दाका लागि बिन्ध्यवासिनीको आईपीओ आजबाट

आयोजना आसपासका बासिन्दाका लागि बिन्ध्यवासिनीको आईपीओ आजबाट

काठमाडौंः आयोजनाबाट असर पर्नसक्ने आसपासका बासिन्दाका लागि बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजबाट आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १० करोड मूल्य बराबरको १० लाख कित्ता आईपीओको बिक्री खुला गरेको हो।

कम्पनीले आफ्नो जारी पुँजी एक अर्बको १० प्रतिशतले हुने १० लाख कित्ता शेयरमध्ये आयोजनाको मुख्य संरचना क्षेत्रमा पर्ने लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिका–८ र ९ का बासिन्दाका लागि सात लाख कित्ता शेयर सुरक्षित गरेको छ।

साथै बाँकी तीन लाख कित्ता शेयर क्व्होलासोथार र मादी गाउँपालिकाका अन्य वडाका बासिन्दाहरूलाई छुट्याइएको कम्पनीले जनाएको छ। आजदेखि यही वैशाख २५ सम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी जेठ ९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि स्थानीयले आवेदन दिन पाउने छन्।

कम्पनीले लमजुङको क्व्होलासोथार गाउँपालिका तथा कास्कीको मादी गाउँपालिका भएर बग्ने रुदी खोलामा रुदी 'ए' आठ दशमलव आठ मेगावाट र रुदी 'बी' ६ दशमलव ६ मेगावाट क्षमताका दुई आयोजना निर्माण गरिरहेको छ।

वैशाख ११, २०७९ आइतबार ११:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।