कमल थापा र एकनाथ एमाले प्रवेश गर्लान!

काठमाडौँ : स्थानीय तहको निर्वाचनमा सहकार्यका लागि एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल परिवार दलसँग सम्झौता गर्दा सूर्य चिन्हबाट निर्वाचनमा उम्मेदवार बन्ने तर उम्मेदवार सम्बन्धित पार्टीकै हुने सम्झौता गर्यो।
दुवै दलसँग एमालेले गरेको सम्झौता निर्वाचन कानुन विपरीत थियो। गत निर्वाचनमा ह्दयश त्रिपाठीले एमालेको सूर्य चिन्हबाट उम्मेदवार बने पनि स्वतन्त्र सांसद भन्दै बसेका थिए। उता गठबन्धन दलले पनि उम्मेदवारहरूलाई साझा निर्वाचन चिन्हको प्रयोग गर्नेबारे छलफल गरिरहेको थियो।
तर एमाले अनि सत्ता गठबन्धन दल दुवैको तयारीलाई निर्वाचन आयोगले धक्का दिएको छ। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जो उम्मेदवार जुन दलको निर्वाचन चिन्हबाट उम्मेदवार हुने हो उ त्यही दलको उम्मेदवार मानिने बताए।
शनिबारको पत्रकार सम्मेलनमा उनले भने उम्मेदवारी दर्ता गर्ने व्यक्ति त्यो दलको हो कि होइन भन्ने विषय आयोगको होइन। दलको पत्रको आधारमा उम्मेदवारी दर्ता हुन्छ। जुन चिह्नबाट उम्मेदवारी दिएको हो त्यही दलको हो भन्ने निधो हुन्छ।’ उनले स्थानीय तह सम्मबन्धी कानुनले कुनै पनि प्रकारको गठबन्धन पनि नचिन्ने बताए। उनले उम्मेदवारी दिने व्यक्तिको दलमा हैसियत के हो त्यो समेत आयोगको चासोको विषय नभएको बताए।
वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ताको समय तोकिएको छ।
वैशाख १०, २०७९ शनिबार २०:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।