कांग्रेसमा गुट अनुसार महानगर-उपमहानगरको उम्मेदवार, निर्णयमा सकस

कांग्रेसमा गुट अनुसार महानगर-उपमहानगरको उम्मेदवार, निर्णयमा सकस

काठमाडौँ : गठबन्धनमा आफ्नो भागमा परेको महानगरपालिका र उपमहानगर पालिकाका उम्मेदवार छान्न कांग्रेसको शीर्ष नेता छलफलमा छन्।

शुक्रवार पनि नेताहरू छलफलमा बसेका थिए। तर सबै नेताहरूले आफू निकटलाई उम्मेदवार बनाउन केन्द्रित भएपछि सहमति हुन सकेन। पार्टीभित्रको गुटको प्रभाव उम्मेदवार चयनमा देखिएको छ।

शुक्रवार नेताहरूले आ-आफू अनुकूल उम्मेदवारको नाम लिएपछि निर्णयका लागि शनिवार १० बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शीर्ष नेताहरू छलफलमा बसेका छन्। तर सहमति हुन सकेको छैन।

कसको सम्भावना ?

शेरबहादुर देउवा, शेखर कोइराला, रामचन्द्र पौडेल अनि कृष्ण सिटौला समूहगत रूपमा आफू निकट नेतालाई उम्मेदवार बनाउन सक्रिय छन्। विराटनगरमा शेखर समूह हाबी भएको छ भने सिटौलाले पनि दाबी गरिरहेका छन्।

पोखरामा पौडेल समूह हाबी देखिएको छ। भरतपुरमा देउवाले चासो राखेका छन्। काठमाडौँमा प्रकाशमान सिंहको निर्णय अनुसार निर्णय हुने देखिन्छ। उनको श्रीमती सृजना सिंहले मेयरको उम्मेदवारीमा चासो राखेकी छिन्।

ललितपुरमा चिरिबाबु महर्जनकै सम्भावना बलियो रहेको एक नेताले बताए। महर्जनको कार्यकाल राम्रो भएको भन्दै उनलाई नै पुन दोहोर्याउन शीर्ष नेताहरू सकारात्मक देखिएका छन्।

वैशाख १०, २०७९ शनिबार ११:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।