विद्रोही उम्मेदवार उठाउन २ दिन उम्मेदवारी राखिएको माधव नेपालको आरोप

विद्रोही उम्मेदवार उठाउन २ दिन उम्मेदवारी राखिएको माधव नेपालको आरोप

काठमाडौँ : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाले दुई दिन उम्मेदवारी दर्ताको व्यवस्था विद्रोही उम्मेदवार उठाउनका लागि राखिएको दाबी गरेका छन्।

निर्वाचन आयोगको कार्यतालिका अनुसार स्थानीय तहमा वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन गर्ने उल्लेख छ। उनले यसलाई तिकडम गर्न खोजिएको भन्दै शनिवार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा भने' ११ गते मनोनयन हेरेर १२ गते विद्रोही खडा गर्ने केपी ओलीले तिकडम गर्न खोजेको हुनसक्छ। तर ओलीका तिकडमलाई हामी पछार्छौँ।'

नेकपा स्थापना दिवस पारेर आयोजित कार्यक्रममा उनले गठबन्धन दलप्रति पनि असन्तुष्टि जनाए। महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुङ्गिनु अगाडि पनि उनले गठबन्धन दलभित्र आफ्नो दललाई अपमानित गर्न खोजेको भन्दै चेतावनी दिएका थिए।

चेतावनीको प्रभाव कांग्रेसले पहिला नमानेको पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पायो। नगरपालिकामा भागबन्डामा पनि अहिले विवाद छ। नगरपालिका भागबन्डा केन्द्रले नभई सम्बन्धित जिल्लाले टुङ्ग्याउने तयारी छ।

नेपालले महानगर र उपमहानगरपालिकाको भागबन्डाले गठबन्धनमा राम्रो सन्देश दिएको तर जिल्ला तहको रिपोर्ट आशावादी नरहेको दाबी गर्दै गठबन्धनका अन्य दलले एकीकृत समाजवादीको अपमान गर्न खोजेको बताए।

उनले देशै भरी पार्टीको सञ्जाल रहेको दाबी गर्दै न्यूनतम एउटा पालिका आफ्नो पालिकाले पाउनुपर्ने र एमालेले जितेका ठाउँमा आफ्नो पार्टीको पहिलो हक हुने बताए।

उनले गठबन्धनको प्रमुख शक्ति नेपाली काङ्ग्रेसभित्रै एकथरी समूह गठबन्धनको विरुद्ध लागेको र जिल्लाहरूबाट आइरहेका सन्देशहरू त्यति उत्साहजनक नभएको बताएका थिए।

वैशाख १०, २०७९ शनिबार ११:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।