निर्वाचनमा खटिए एक लाख ६८ हजार सुरक्षाकर्मी, जुनसुकै स्थानमा ३० मिनेटभित्र सेना पुग्नेगरी फोर्स तैनाथ

निर्वाचनमा खटिए एक लाख ६८ हजार सुरक्षाकर्मी, जुनसुकै स्थानमा ३० मिनेटभित्र सेना पुग्नेगरी फोर्स तैनाथ

काठमाडौंः वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचनलाई धाँधली र भयरहित रूपमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीतिका साथ सुरक्षा संयन्त्र कार्य क्षेत्रमा होमिएको छ।

सुरक्षा टोली हाल मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेखी तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ भने निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षा प्रदान गर्न खटिइसकेको छ। निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहनेछ।

सुरक्षा चुनौती आकलन गर्दै राष्ट्रिय अनुसन्धान आयोग समेत चारै वटा सुरक्षा निकायले आआफ्नो तयारी तीव्र पारेको जनाएका छन्। 

एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन भएको गृह मन्त्रालयले जनाएको छ। बिहीबार मात्रै गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनको सुरक्षा प्रबन्ध प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

गृहमन्त्री खाँणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने जिम्मेवारी सबैको भएकाले त्यसमा कुनै पनि कसर बाँकी नराखी कार्य गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। यस्तै निर्वाचनमा आउन सक्ने चुनौती चिर्दै शान्तिपूर्ण रूपमा सम्पन्न गराउने विषयमा सुरक्षा अधिकारीले गृहमन्त्री समक्ष निर्वाचन सुरक्षा योजनाबारे ‘ब्रिफिङ’ पनि गरिसकेका छन्।

यसपालिको निर्वाचनमा नेपाल प्रहरीले ६५ हजार बढी जनशक्ति निर्वाचन केन्द्रित सुरक्षामा परिचालन गर्ने गरी आवश्यक रणनीति तयार पारेको छ भने नेपाली सेनाका ७१ हजार जनशक्ति निर्वाचनमा खटिने छन्। यस्तै सशस्त्र प्रहरीबाट ३२ हजार जनशक्ति निर्वाचनमा खटिने छन्।

निर्वाचनको सबै सुरक्षा नेपाल प्रहरीको जिम्मामा हुनेछ। प्रहरीको सहयोगी शक्तिका रूपमा सशस्त्र प्रहरी र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागले काम गर्नेछ। विभागलाई सूचना सङ्कलनमा मुख्य जिम्मेवारी छ। 

यस्तै आयोगले निर्वाचनको पर्यवेक्षणका लागि ४४ संस्थालाई अनुमति दिने निर्णय गरिसकेको छ। ती संस्थाबाट १० हजार पर्यवेक्षक खटिने छन्। मतपत्र छपाइको क्रम तीव्र पारिएको छ। आयोगका अनुसार एक करोड ९४ लाख मतपत्र आवश्यक पर्छन्।

यसपालि निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्। कुल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ। सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ।

नेपाली सेनाको निर्वाचन सुरक्षा 

आजबाट निर्वाचन अयोगमा खडा हुने सेलमा समेत सेना खटिइसकेको छ। सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार  मतपत्र छपाइस्थलमा सेनाको टोली तैनाथ भइसकेको र मतपत्र ढुवानी तथा मतपेटीका सुरक्षाको जिम्मेवारी पनि सेनाकै रहेको छ।

यस्तै सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिँदै आएको कारागारलगायत महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षामा समेत सेना खटिइसकेको छ। पहिले नै सेनाले ३४ कारागारको सुरक्षा जिम्मा लिइसकेको थियो। बाँकीको जिम्मा समेत सेनालाई दिइएको छ।

“जुनसुकै स्थानमा आवश्यक परेको खण्डमा बढीमा ३० मिनेटभित्रमा सेना आइपुग्ने गरी फोर्स तैनाथ रहन्छन”, सहायक रथी सिलवालले भने।

सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा

सशस्त्र प्रहरी बल नेपालले आवश्यक क्षेत्रमा टोली खटाइसकेको छ। त्यसमा मोबाइल गस्ती, स्टाइकिङ टोली समेत पर्छन्। दोस्रो घेरामा रहने सशस्त्रले जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतकको सुरक्षा गर्छन्।

जिल्ला कमाण्ड पोष्ट, निर्वाचन सेलमा समेत सशस्त्रको टोली खटिनेछ।

कार्य क्षेत्रमा म्यादी प्रहरी 

एक लाख म्यादी प्रहरी पनि कार्य क्षेत्रमा खटिइसकेका छन्। उनीहरूलाई नेपाल प्रहरीसँगै रहेर काम गर्ने गरी निर्वाचन सुरक्षामा खटाइएको हो।

चुनावका बेलामा मतदाताको लाइन मिलाउने, अनावश्यक मान्छे छिर्न नदिने, भीडभाड रोक्ने, नेपाल प्रहरीले लगाए/अह्राएको काम गर्ने जिम्मेवारी म्यादी प्रहरीको हो। 

यस्तै निर्वाचनपूर्व हुने आवश्यक तयारी, मतदान अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय क्षेत्र तथा आवश्यक निर्वाचनका गतिवधि सञ्चालन हुने स्थानका सुरक्षामा म्यादी प्रहरी खटाइएको छ। यसका अलावा राजनीतिक दलका गतिविधि हुने स्थान तथा तोकिएका सार्वजनिक क्षेत्रको सुरक्षामा समेत सुरक्षा संयन्त्रले निगरानी बढाउन थालिसकेका छन्।

वैशाख १०, २०७९ शनिबार १०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।