जुम्लामा आगलागी हुँदा चार बालबालिकाको मृत्यु, घाइते तीन जना उपचाररत

जुम्लामा आगलागी हुँदा चार बालबालिकाको मृत्यु, घाइते तीन जना उपचाररत

जुम्लाः जिल्लाको तिला गाउँपालिकाका–३ कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ। आगलागीबाट मानसिंह सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले बताए।

चन्दका अनुसार आगलागीबारे प्रहरीलाई राति ११ः४५ बजे खबर भएको हो। लगत्तै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लिएको उनले बताए।

आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरूपले क्षति भएको उनले बताए।

आगलागीका कारण बेहोस भएका मानसिंह र उनकी श्रीमती फागुनी तथा बहिनी रुञ्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ। मृतक चारै बालबालिकाको शव परीक्षणका लागि प्रतिष्ठानमा ल्याइँदै गरेको उनले बताए।

घटना के-कसरी भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

वैशाख १०, २०७९ शनिबार ०७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।