वायुसेवा निगमले सुरु गर्याे साउदी अरेबियाको रियादमा सिधा उडान, एकतर्फी भाडा ३७ हजार

वायुसेवा निगमले सुरु गर्याे साउदी अरेबियाको रियादमा सिधा उडान, एकतर्फी भाडा ३७ हजार

काठमाडौँ : नेपाल वायुसेवा निगमले काठमाडौ–रियाद–काठमाडौं नियमित व्यवसायिक उडान सुरु गरेको छ। निगमले आजदेखि सुरु गरेको जनाएको छ। नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा दुईवटा उडान सञ्चालन गर्ने भएको निगमले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रियादको लागि निगमको पहिलो उडान आज सवा पाँच बजे प्रस्थान गरेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा निगमलाई साउदी अरेबियाको रियादमा उडानका लागि उडान अनुमति प्राप्त भएपश्चात् उक्त गन्तव्यमा निगमले आफ्नो गन्तव्य विस्तार गरेको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

निगमले हाल भारतको दिल्ली, मुम्बई र बैङ्लोर, कतारको दोहा, संयुक्त अरब इमिरेट्सको दुबई, मलेशियाको क्वालालम्पुर, थाइल्याण्डको बैंकक, चीनको हङकङ र जापानको नारितामा उडान सञ्चालन गर्दै आएकोमा नयाँ गन्तव्यको रुपमा साउदी अरेबियाको रियाद बनेको छ।

एकतर्फी ३७ हजार भाडा
काठमाडौँ–रियाद गन्तव्यका लागि एकतर्फी भाडादर रु ३७ हजार कायम गरिएको जनाइएको छ। निगमका प्रवक्ता खड्काले हाललाई एकतर्फी भाडादर कायम गरिएको बताइन्। निगमले साउदी अरेबिया उडानका लागि वाइडबडी र न्यारोबडी दुवै जहाजले उडान गर्नेगरी ‘स्लट’ पाएको छ।

यो गन्तव्यको उडानमा निगमले सहुलियतपूर्ण भाडादर, यात्रुलाई सुविधा ‘इनफ्लाइट’ खाना तथा रियादबाट फर्कंदा यात्रुले ४० केजी लगेज सुविधा पाउनेछन्। काठमाडौँ–रियाद एकतर्फी उडान अवधि ६ घण्टा १५ मिनेट र रियाद–काठमाडौँ उडान अवधि चार घण्टा ५० मिनेटको हुने निगमले जनाएको छ।

नेपाली कामदारको बाहुल्य रहेको मुलुक साउदी अरबको उडानले निगमलाई आर्थिकरूपमा लाभ हुनसक्ने अनुमान गरिएको छ। विभिन्न पेसा व्यवसायमा पनि साउदीका विभिन्न गन्तव्यमा नेपाली छन्। अन्य मुलुकबाट ट्रान्जिट भएर आउन पनि यात्रुलाई सहज हुने भएकाले यो गन्तव्य उपयोगी हुने विश्वास गरिएको छ।

यससँगै अब ८ मुलुकका १० वटा गन्तव्यहरुमा निगमले उडान सञ्चालन गर्ने भएको छ।  उक्त गन्तव्यहरुमध्ये निगमले दिल्लीमा दैनिक २ वटा उडान सञ्चालन गर्दै आएको छ भने अन्य गन्तव्यहरुमा साप्तहिक रुपमा क्रमशः मुम्बई, बैङ्लोर, क्वाललम्प र बैंककमा ३–३ वटा, दोहामा ५, दुबईमा ५, हङकङमा १ र नारितामा ३ वटा उडान सञ्चालन गर्दै आएको छ। त्यस्तै, दोहा र क्वालालम्पुरको उडान छिट्टै दैनिक रुपमा सञ्चालन गर्ने तयारी रहेको निगमले जनाएको छ। 

उल्लेखित गन्तव्यका अन्तर्राष्ट्रिय उडानहरुमा हाल निगमको सिट अकुपेन्सी ८० प्रतिशत भन्दा बढी रहेको निगमको दाबी छ। 

वैशाख ९, २०७९ शुक्रबार २१:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।