च्यासल सर्याे एमाले पार्टी कार्यालय, ओलीले गरे उद्घाटन

काठमाडौँ : एमाले आजबाट ललितपुरको च्यासलस्थित नयाँ पार्टी कार्यालयमा सरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलापत्र अनावरण गर्दै पार्टी कार्यालयको औपचारिक उद्घाटन गरेका हुन्। एक वर्षअघि मात्र थापाथलीमा पार्टी कार्यालय राखेको एमालेले आजदेखि च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सरेको हो।
नयाँ पार्टी कार्यालय पाँच वर्षका लागि अनुबन्धित गरिएको हो। त्यसका लागि तुलसीलाल स्मृति प्रतिष्ठानसँग अनुमति मागिएको एमाले उपमहासचिव विष्णुप्रसाद रिमालले बताए। वार्षिक रूपमा निश्चित रकम प्रतिष्ठानलाई दिइने गरी सम्झौता गरिएको उनको भनाइ छ।एमालेको नयाँ पार्टी कार्यालय तीन तलाको छ।
नयाँ पार्टी कार्यालयको भुईँ तलामा कार्यालय सचिवको कार्यकक्ष र स्वागत कक्ष राखिएको छ। त्यस्तै पहिलो तलामा लाइब्रेरी, एक्सन रुम, केन्द्रीय सल्लाहकार परिषद्, संगठन विभाव, प्रचार तथा प्रकाशन विभाग, परराष्ट्र मामिला विभाग प्रमुख र महासचिव कार्यकक्ष राखिएको छ। सोही तलामा पुष्पलाल स्मृति हल पनि बनाइएको छ।
त्यस्तै दोस्रो तलामा विभाग र अध्यक्षको कार्यकक्ष रहेको छ। सबैभन्दा माथिल्लो तला (तेस्रो तला) मा उपाध्यक्ष र उपमहासचिव र सचिवहरूको कार्यकक्ष रहेको छ।
वैशाख ९, २०७९ शुक्रबार १७:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।