एमालेको आरोप : निर्दलिय अभ्यास सुरु गरियो

काठमाडौँ : एमालेले घोषणा पत्रमा सत्ताधारी गठबन्धनको आलोचना गर्दै निर्दलीय अभ्यास सुरु गरेको दाबी गरेको छ। आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकार किन ढालियो भन्ने व्याख्या गर्दै उसले अदालतको समेत कटु आलोचना गरेको छ।
वर्तमान सरकारलाई भन्दै आएको परमादेशी सरकारको शब्द घोषणा पत्रभरी प्रयोग गरिएको छ। राष्ट्राध्यक्षको अधिकार कुण्ठित बनाएको दाबी गर्दै घोषणा पत्रमा शक्ति पृथकीकरणको सिद्धान्त समेत कुल्चिएको दाबी गरिएको छ।
'संविधानको अपव्याख्या र अदालतको दुरुपयोग गर्दै सरकार बनाउने जनताको सार्वभौम अधिकार कुण्ठित गरियो। अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त हुने गलत, अलोकतान्त्रिक र अराजक नजिर स्थापित गरियो,' घोषणा पत्रमा भनिएको छ।
घोषणा पत्रको अंश :
लोकतन्त्रमा सरकार सञ्चालनको वैधता सार्वभौम जनताबाट प्राप्त हुन्छ, जसको माध्यम आवधिक निर्वाचनबाट प्राप्त हुने जनादेश हो। एउटा जनादेश खण्डित भइसकेपछि पुन सार्वभौम जनताको बिचमा जानु र ताजा जनादेशको खोजी गर्नु स्वाभाविक र लोकतान्त्रिक प्रक्रिया हो। तर हामीकहाँ यसो हुन दिइएन।
संविधानको अपव्याख्या र अदालतको दुरुपयोग गर्दै सरकार बनाउने जनताको सार्वभौम अधिकार कुण्ठित गरियो। अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त हुने गलत, अलोकतान्त्रिक र अराजक नजिर स्थापित गरियो।
जनादेश अपमानित एवं विस्थापित हुने र परमादेशबाट शासन चलाउने हानिकारक अभ्यास सुरु भयो। यस क्रममा लोकतन्त्रको आधार स्तम्भका रूपमा रहेको शक्ति पृथकीकरणको सिद्धान्त समेत कुल्चिइयो।
संविधानको संरक्षक राष्ट्राध्यक्षका अधिकार कुण्ठित गरियो। बहुदलीय प्रतिष्पर्धात्मक लोकतन्त्रको मर्मका रूपमा रहेको दलीय पद्धतिमाथि प्रहार गर्दै सांसदहरूमाथि सम्बन्धित दलको ह्विप नलाग्ने निर्दलीय अभ्यास सुरु गरियो। मुलुकले हासिल गरेको राजनीतिक स्थायित्व र सामाजिक–आर्थिक रूपान्तरण तथा सम्बृद्दिको जगलाई भत्काउने प्रयोजनका लागि कुटिल तरिकाले अध्यादेश जारी गरेर एमालेलाई चोइटाउने काम गरियो।
विपरीत विचारधारा एवं पष्ठभृमीका समूहहरूको अवसरवादी गठबन्धन निर्माण गरियो। २०७८ असार २८ को सर्वोच्च अदालतको परमादेश त्रुटिपूर्ण र असंवैधानिक छ भन्ने विषयमा हामीले सार्वभौम नेपाली जनतासमक्ष आफ्ना धारणाहरू स्पष्ट पारिसकेकै छौँ।
यो आदेशको उद्देश्य सामान्य सरकार परिवर्तनमा सीमित छैन, यो त एमालेको नेतृत्वमा स्थापित राजनीतिक धार (कोर्स) नै परिवर्तन गर्नमा केन्द्रित छ। पार्टीले त्यति बेलै निकालेको यस निष्कर्षको सान्दर्भिकता गएका नौ महिनाका घटनाक्रमले पुष्टि गर्दै लगेका छन्।
वैशाख ९, २०७९ शुक्रबार १७:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।