मोबाइलबाट फोटो खिच्न थालेपछि रिसाउँदै ओलीले भने' क्यामरा डाउन'
काठमाडौँ : पार्टीको घोषणा पत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन सुरु गर्दा पनि हलमा हल्ला भइरहेकै थियो। केही नेताहरू गोजीबाट मोबाइल निकालेर फोटो खिच्न थाले। उनलाई मन परेन।
'हल्ला गरिरहेकाहरूतिर हेर्दै भने अब हल्ला नगरौँ। सुनौँ।' उनी यतिमै रोकिएनन्। अगाडि फोटो खिचिरहेकाहरूतिर हेर्दै भने' क्यामरा डाउन। क्यामरा डाउन।'
फोटो खिच्नेहरूमा पत्रकारहरू पनि थिए। ओलीले क्यामरा डाउन भनेपछि पत्रकार अलमलमा परे। फोटो पत्रकार अलमलमा परेको देखेपछि उनले सच्याउँदै भने' फोटो खिच्ने राख्या अर्कै क्यामरा छ। मोबाइललाई क्यामरा बनाउने हो भने सबैको अगाडि क्यामरा हुन्छ।'
त्यसपछि नेता-कार्यकर्ताहरुले मोबाइल गोजीमा राख्न थाले।
उनी सम्बोधन गर्दै जाँदा फेरि पछाडि हल्ला हुन थाल्यो। उनले त्यता हेर्दै भने' पछाडिबाट फेरि हल्ला सुनिन थालियो नि।' त्यो बेलामा उनी मानव इतिहास पढाइरहेका थिए।
नेताहरू नै हल्ला गर्न थालेपछि उनले भने' पछाडि सुनिएको छ ?' पछाडि बसेर गफ गरिरहेकाहरूले भने'छ' अनि ओली पुन मानव इतिहास पढाउन थाले।
वैशाख ९, २०७९ शुक्रबार १७:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।