एमालेको स्थानीय निर्वाचन घोषणापत्रः मुख्य सहरमा रेल, ठूला नदीमा जल यातायातको विकास गर्ने

काठमाडौँ : एमालेले सार्वजनिक यातायात सेवालाई प्रभावकारी बनाउन रेल सेवा संचालनको पूर्वाधार विकास गर्ने जनाएको छ। एमालले शुक्रबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा उक्त प्रतिवद्धता जनाएको हो।
‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने। ठूला सहरहरूमा रेल, बस र्यापिड ट्रान्जिट लगायतका यातायात प्रणालीको विकास गर्ने। ठूला नदीहरूमा जल यातायातको विकास गर्ने,’ घोषणापत्रमा एमालेले लेखेको छ।
अघिल्ला स्थानीय, संघ र प्रदेशको चुनावमा पनि एमालेले घोषणापत्रमा रेल र जल यातायात सेवालाई उच्च प्राथमिकता दिएको थियो। तर दुवै कुरा उसले पुरा गर्न सकेको थिएन। यसपटक सार्वजनिक गरेको घोषणापत्रमा पनि एमालेले रेल र जल यातायात दुवै सेवालाई प्राथमिकतामा राखेको छ।
सडक, हवाई, जल, केबुलकार र रोपवे, दूरसञ्चार लगायत आवागमन र सञ्चार सम्बन्धका सबै माध्यमहरूको विकास र प्रयोग गरी आवागमन, सेवा र आपूर्ति व्यवस्थालाई सहज र आधुनिक बनाउने दाबी घोषणापत्रमा गरिएको छ।
वैशाख ९, २०७९ शुक्रबार १६:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।