एमाले सरकारमा रहँदा आफूले गरेको दाबी गरेको १३ काम : विश्वमै नयाँ दृष्टान्त स्थापित, पृथकतावादी चुनौती समाप्त

काठमाडौँ : एमालेले स्थानीय तहको निर्वाचन लक्षित घोषणा पत्र सार्वजनिक गर्दै सरकारमा रहँदा आफूले गरेका १३ कामको सूची सार्वजनिक गरेको छ। एमाले सरकारमा रहँदा गरेका कामको सूचीमा १३ बुँदा छ। तर एक बुँदा सरकारमा रहेका गठबन्धनलाई लगाएको आरोप समेत लगाइएको छ।
एमाले अध्यक्ष केपी ओलीले घोषणा पत्र सार्वजनिक गर्दै स्थानीय तहमा एमालेको सरकार भयो भने मात्र केन्द्रमा सरकार बनाएर काम गर्न सकिने दाबी गरेका थिए।
एमालेले आफ्नो सरकार हुँदा आफूले गरेको दाबी गरेका ११ काम
- संविधान र सङ्घीयताको सफल कार्यान्वयन गरेर नेपालले विश्वमै नयाँ दृष्टान्त स्थापित गर्न सफल भयो।
-पृथकतावाद र हिंसाका चुनौती समाप्त पारिए। त्यस्ता गतिविधिमा संलग्न समूहहरूलाई राष्ट्रिय एकता,संविधान र शान्तिपूर्ण प्रतिस्पर्धाको मूलधारमा आबद्ध गर्ने सफलता हासिल भयो। संविधानप्रति असन्तुष्टि राखिरहेका समूहहरूलाई समेत सरकारमा सहभागी र संविधानको संशोधन प्रक्रियामा सहमत गराएर संविधानलाई सर्वस्वीकार्य बनाइयो।
-सार्वभौम समानता, पारस्परिक लाभ एवं सम्मान र अहस्तक्षेपका मान्यतामाथि आधारित भएर नेपालको छिमेक लगायत बाह्य सम्बन्ध सुदृढ गरियो। अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त हुने गलत, अलोकतान्त्रिक र अराजक नजिर स्थापित गरियो। जनादेश अपमानित एवं विस्थापित हुने र परमादेशबाट शासन चलाउने हानिकारक अभ्यास सुरु भयो।
-लिम्पियाधरा, लिपुलेक र कालापानी सहितका नेपालका भूभाग समेटेर नयाँ नक्सा प्रकाशन भयो, यसका लागि अभतूपर्व राष्ट्रिय सहमति निर्माण गरियो र यी भूभागमा नेपालको प्रशासनिक स्वामित्व स्थापित गर्न कूटनीतिक संवाद सुरु भयो।
-दीर्घकालीन र रणनीतिक महत्त्वका पूर्वाधार निर्माणको थालनी गरियो।
-भूकम्पपछिको पुनर्निर्माणमा उदाहरणीय सफलता हासिल गर्दै करिब ८ लाख पीडित परिवारलाई सुरक्षित आवासमा फर्काइयो। क्षतिग्रस्त हजारौँ विद्यालय भवन, अस्पताल एवं स्वास्थ्य संस्था, सरकारी कार्यालय र सांस्कृतिक सम्पदा पुन निर्माण र हस्तान्तरण गरिए।
-कोभिड अगाडिको अवधिमा मुलुकले ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्दै सम्भावनायुक्त अर्थतन्त्रका रूपमा विश्वको ध्यान आकर्षित गर्न सफल भयो।
-नेपाल संयुक्त राष्ट्र सङ्घबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस भयो।
-वाह्य लगानीमा ठुलो वृद्धि भयो।
-दिगो विकास लक्ष्य सहित मानव विकास, शान्ति, खुसी, खाद्य सुरक्षा, बहु आयामिक गरिबी, व्यावसायिक सहजता, लैङ्गिक समानता लगायत विश्वव्यापी सूचकहरूमा नेपालले उल्लेख्य सुधार हासिल गऱ्यो।
-सामाजिक न्याय र सुरक्षाको दायरालाई विस्तार गर्दै जनतालाई परिवर्तन, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नयाँ युगको अनुभूति दिलाउने गरी काम अगाडि बढाइए।
-शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न आवश्यक संस्थागत व्यवस्था गरियो, सरोकारवालाहरूसँग परामर्श र पीडितहरूलाई परिचयपत्र वितरण आरम्भ गरियो।
-लोकतन्त्र प्राप्तिको आन्दोलनमा जीवन उत्सर्ग गर्ने विभिन्न योद्धाहरूलाई राष्ट्रिय शहीद घोषणा गरियो, विभिन्न आन्दोलन, क्रान्ति र परिवर्तनमा महत्त्वपूर्ण योगदान गर्नेहरूलाई लोकतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने काम थालनी गरियो।
वैशाख ९, २०७९ शुक्रबार १६:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।