एमालेको स्थानीय निर्वाचन घोषणापत्रः विपन्न परिवारलाई बिजुली निःशुल्क, ‘एक घर एक धारा’ अभियान सुरु गर्ने

एमालेको स्थानीय निर्वाचन घोषणापत्रः विपन्न परिवारलाई बिजुली निःशुल्क, ‘एक घर एक धारा’ अभियान सुरु गर्ने

काठमाडौँ : नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको हो।  

एमालेले ‘एक घर एक धारा’ अभियान सुरु गरी आगामी दुई वर्षमा सबै नागरिकको पहुँचमा खानेपानी पुर्याउने प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ। ‘प्रत्येक नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी र सरसफाइको व्यवस्था मार्फत सफा, सुन्दर र सभ्य पालिका निर्माण गर्ने,’ घोषणापत्रमा भनिएको छ, ‘एक घर एक धारा अभियान अन्तर्गत आगामी दुई वर्षभित्र सबै नागरिकमा खानेपानीको सुलभ आपूर्ति सुनिश्चित गर्ने।’ 

खानेपानी व्यवस्थापनमा जनसहभागिता सुनिश्चित हुने गरी उपयक्तु संयन्त्र निर्माण गर्ने, ठूला खानेपानी आयोजना सङ्घ र प्रदेशसँगको सहकार्यमा निर्माण गर्ने प्रतिविद्धता पनि घोषणापत्रमा गरिएको छ। 

एमालेले विपन्न परिवारलाई घरायसी प्रयोगको लागि विद्युत् निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। एमाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा उक्त प्रतिबद्धता उल्लेख गरेको छ। 

यस्तै प्रत्येक नागरिकका घरमा विद्युत् सुविधा उपलब्ध गराउने। विपन्न परिवारलाई घरायसी प्रयोगको विद्युत् निःशुल्क उपलब्ध गराउने,’ एमालेको घोषणापत्रमा उल्लेख छ। विद्युत् उत्पादन र खपत बढाउने, आधुनिक ऊर्जामा नागरिकको सहज पहुँच सुनिश्चित गर्दै नवीकरणीय ऊर्जाको प्रयोगद्वारा दैनिक जीवनमा सहजता तथा रोजगारी, आय वृद्धि र पर्यावरण संरक्षण गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा गरिएको छ। 

‘ऊर्जा उत्पादन र वितरणमा सामुदायिक, सहकारी एवं पालिकाको सहभागिता सुनिश्चित गर्ने गरी आवश्यक कानुनी र संरचनात्मक प्रबन्ध गर्ने। नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग आवश्यक समन्वय र सहकार्य गर्ने,’ घोषणापत्रमा भनिएको छ। पालिकामा सञ्चालित जलविद्युत आयोजनाबाट स्थानीय समुदायलाई साझेदार र लाभान्वित बनाउन पहल गर्ने पनि एमालेले जनाएको छ। 

यस्तै एमालेले स्थानीय तहका प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण गरी सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। घोषणापत्रमा पूर्वाधार, जनशक्ति, वित्तीय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन र निरोगी नेपाल निर्माण गर्ने जनाइएको छ। 

यस्तै आरोग्यता, स्वास्थ्य परीक्षण, निःशुल्क आधारभूत स्वास्थ्य सेवा, जटिल रोगको निःशुल्क उपचार, बिमा, स्वास्थ्य पूर्वाधार र जनशक्तिको समष्टिगत व्यवस्था मार्फत स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने दाबी पनि एमालेले गरेको छ। 

‘प्रत्येक पालिकामा निर्माणाधीन आधारभूत अस्पताल सम्पन्न गर्ने, प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण र सञ्चालन गर्ने, त्यसका लागि आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्ने,’ घोषणापत्रमा उल्लेख छ। 

निजी, सहकारी तथा सामुदायिक क्षेत्रसँगको पहल, समन्वय र सहकार्यमा निर्मित अस्पतालद्वारा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने कुरा सुनिश्चित गर्ने पनि घोषणापत्रमा लेखिएको छ।  

स्वास्थ्य सेवा शिविर सञ्चालन, प्रजनन स्वास्थ्य, पोषण सेवासम्बन्धी कार्य गर्ने, गम्भीर रोगको पूर्वपरिक्षण (स्क्रिनिङ) र पाठेघरको क्यान्सरको निःशुल्क परीक्षण गर्ने प्रतिबद्धता एमालेले गरेको छ। 

‘प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य बिमा गर्ने, जेष्ठ नागरिक, विपन्न, दलित, एकल महिला र अपाङ्गता सहितका व्यक्तिको स्वास्थ्य बिमा निःशुल्क गर्ने,’ घोषणापत्रमा लेखिएको छ । 

स्पाइनल इञ्जुरीका कारण अपाङ्गता भएका लगायत गम्भीर प्रकृतिको अपाङ्गता भएका व्यक्तिको पुनः स्थापना तथा उनीहरूलाई आवश्यक पर्ने औषधि र अन्य सहायता सामग्री स्थानीय तहमै उपलब्ध गराउने व्यवस्था गर्ने प्रतिबद्धता एमालेको छ। 
 

वैशाख ९, २०७९ शुक्रबार १६:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।