किरात जनवादीका नेता-कार्यकर्ताको मुद्दा फिर्ताको तयारी

काठमाडौँ : गृह मन्त्रालयले किरात जनवादी वर्कर्स पार्टीका नेता-कार्यकर्ताको मुद्दा फिर्ता प्रक्रिया सुरु गरेको छ। पार्टीले विभिन्न आरोपमा पक्राउ परेका नेता-कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरु गरे राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउने र स्थानीय निर्वाचनमा भाग लिने बताएपछि मन्त्रालयले पार्टीका नेता-कार्यकर्ता रिहाइ र कानुन अनुरूप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरेको गृह मन्त्रीको सचिवालयले जानकारी दिएको छ।
किरात जनवादी पार्टी र त्यस बेला मूलधारको राजनीतिभन्दा बाहिर रहेका शक्तिबिच वार्ता गर्न गठित प्रारम्भिक वार्ता उपसमितिबिच २०७१ साउन ११ मा चियाबारी कटेजमा वार्ता भएको थियो। वार्तापछि किरात वर्कर्स पार्टीका तर्फबाट संयोजक साङकेन्मा किराँती र प्रारम्भिक वार्ता उपसमितिको तर्फबाट संयोजक आनन्दप्रसाद ढुङ्गानाले हस्ताक्षर गरेका थिए।
सोही सहमतिको आधारमा विभिन्न समयमा भएका अनौपचारिक वार्तापछि अहिले आफूहरूका विभिन्न आरोपमा थुनामा रहेका नेता कार्यकर्ता र लगाइएका मुद्दा फिर्ता लिएमा मूलधारको राजनीतिमा आउने र निर्वाचनमा सहभागी हुने बताएको सचिवालयले जानकारी दिएको छ।
वैशाख ९, २०७९ शुक्रबार १५:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।