प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीसँग डब्ल्यूएचओका महानिर्देशकको भेट, अधिकांशलाई खोप लगाएकोमा कृतज्ञ

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारी र विश्वस्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससबीच शिष्टाचार भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच आज बिहान भेटवार्ता भएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताए।
उनका अनुसार भेटमा राष्ट्रपति भण्डारीले कोरोना महामारीमा सबै देशलाई समान तरिकाले डब्ल्यूएचओले खोप वितरण गरेकामा महानिर्देशक टेड्रोसलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।
यस्तै महानिर्देशक टेड्रोसले नेपालले अधिकांश नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाएकामा कृतज्ञता व्यक्त गरेका थिए।
यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि उनले भेटवार्ता गरेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा बिहीबार नेपाल आएका टेड्रोस भोलि नेपालबाट फर्कनेछन्।
उनको साथमा डब्ल्यूएचओको दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारी समेत आएका छन्।
वैशाख ९, २०७९ शुक्रबार १३:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।